चालु बजेट अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय

लोकप्रिय

हेटौँडा, असोज २३ गते । बागमती प्रदेश सभाको चालु अधिवेशन आज (मङ्गलबार) रातिबाट अन्त्य गरिने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्  बैठकले बजेट अधिवेशनका रूपमा रहेको वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको बैठक प्रदेश प्रमुखले आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रदेश सभाको सोमबारको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको थियो । यसअघि प्रदेश सभा बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि २०८० र चेपाङ, वनकरिया र माझी र बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारमा प्रवक्तासमेत रहनुभएका मन्त्री श्रेष्ठले प्रदेश प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयहरूलाई अख्तियारी दिएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles