खासकुरा संवाददाता
हेटौँडा, असोज २३ गते ।
चितवन प्रहरीले हत्या गरी साधु बनेर बसेका एक अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ७ स्थित मनकुमारी वाग्लेको हत्यामा संलग्न कृष्ण भन्ने तोयानाथ चापागाईलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनामा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । वाग्लेको घरमा निजकै नाती, नाता पर्ने जिल्ला चितवन साबिक मेघौली गाविस वडा नं.३ हाल भरतपुर महानगरपालिका वडा नं. २८ बस्ने तत्काल वर्ष २४ हाल वर्ष ४३ का चापागाईले राति सुतेको अवस्थामा बाँसको लौरो र ढुँगाले टाउकोमा प्रहार गरी वाग्लेको हत्या गरेर कानमा लगाएको गरगहनासमेत लुटी घरको बाहिर ढोकामा साँचो लगाई भागी फरार भएका थिए ।
निज अभियुक्त चापागाईलाई निरन्तर खोजतलास गर्ने क्रममा प्रहरी टोलीले सोमबार साँझ जिल्ला नवलपरासी (ब.सु पश्चिम) वर्दघाट नगरपालिका वडा नं. ४ बाढीपिडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको चितवन प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार चापागाईमाथि थप अनुसन्धान भईरहेको छ ।