इजरायलमा फसेका नेपालीको शीघ्र उद्धार हुनु पर्दछ

लोकप्रिय

जनकपुरधाम, असोज २४ गते ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा फसेका नेपाली विद्यार्थी सहित अन्य नागरिकहरूलाई छिटो भन्दा छिटो प्रक्रियाद्वारा उद्धार गर्नका लागि माग गर्नु भएको छ । 

नेकपा एमालेका अध्यक्ष ओली मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटनका लागि जनकपुरधाम आएको वेलामा जनकपुर विमान स्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै इजरायलमा भएको घटना अत्यन्तै दुःख भएको बताउँदै घाइतेको शीघ्र उपचार तथा मृतकको शव चाँडो नेपाल ल्याउनका लागि सरकारसँग आग्रह गर्नु भयो । 

उहाँले इजरायलमा हमासद्वारा भएको आक्रमण निन्दनीय भएको बताउँदै समस्याको समाधान प्रत्याक्रमण भन्दा पछि शान्तिपूर्ण वार्ता तथा संवादद्वारा हल हुनु पर्ने बताउँदै प्रत्याक्रमण बढी भएको खण्डमा क्षेत्रिय रूप लिने र यसले थप समस्या निम्त्याउने बताउनु भयो । 

नेकपा एमालेका अध्यक्ष ओलीले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्दै सरकारमा बसिरहने नैतिकता अहिलेको सरकारले गुमाइसकेको आरोप लगाउनु भयो । 

उहाँले एक प्रश्नको जवाफमा नेकपा एमालेले देश र जनताको लागि सबै दलहरूसँग वार्ता तथा संवाद गरिरहेको बताउँदै नेपाली काँग्रेससँग पनि संवाद हुने गरेको स्वीकार गर्नु भयो । 

पूर्व प्रधानमन्त्री ओलीले कोशी प्रदेशको राजनीतिक कता जाने हो त्यसका लागि दुई चार दिन पर्खिनका लागि पत्रकारहरुसंग आग्रह गर्नु भयो । 

नेकपा एमालेको प्रदेश अधिवेशनले देशमा राम्रो राजनीतिक सन्देश दिने बताउँदै नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको भावनालाई प्रदेश अधिवेशनहरूले थप जोड बल गरिरहेको बताउनु भयो । 

पूर्व प्रधानमन्त्री ओली जनकपुरधाम विमान स्थलमा आई पुग्दा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, सुरक्षा कर्मी, नेकपा एमालेका सचिवद्वय रघुवीर महासेठ तथा याेगेश भट्टराई सहितका नेताहरूले स्वागत गर्नु भएको थियो । 

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा एमालेको दुई दिने प्रथम मधेश अधिवेशन आज देखि शुरु भएको छ । अधिवेशनमा मधेश प्रदेशका विभिन्न जिल्ला तथा जनवर्गिय सङ्गठनका गरेर १ हजार २७ जना प्रतिनिधिहरू सहभागी रहनु भएको छ ।   

ताजा समाचार

Related Articles