चाडवाडका लागि बजारमा झिलिङ्गा रोटी

लोकप्रिय

खजुरा, असोज २७ गते । 

चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरु बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो । 

पछिल्लो समय गाउँमाभन्दा शहरका मानिसको जीवन अत्यन्तै व्यस्त हुँदै गइरहेको छ । घरका सम्पूर्ण सदस्यहरु कतै न कतै व्यस्त भएका छन् । यस्तै, व्यस्त मानिसलाई लक्षित गर्दै नेपालगञ्जका एक महिला उद्यमिले दसैं र तिहारका लागि झिलिङ्गा रोटी उत्पादन गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १२, कोरियनपुरका महिला उद्यमी श्वेता गुरुङले चाडवाडका लागि झिलिङ्गा रोटी तयार गर्नुभएको छ । नेपालीको ठूला पर्व दसैं तथा तिहारलक्षित गरेर आफ्नै घरमा शुद्ध तथा अर्गानिक झिलिङ्गा रोटी तयार गरिएको गुरुङ्गले बताउनुभयो ।

प्रत्येक वर्ष दसैं तिहारमा विभिन्न रोटीहरु बनाएर विक्रीवितरण गर्दै आइरहेको उहाँले बताउनुभयो । “अहिलेको समयमा मानिसहरु अत्यन्तै व्यस्त हुन्छन्, मनले चाहेर पनि चाडवाडका बेलामा आवश्यक रोटीहरु बनाउन सक्दैनन् । उहाँहरुलाई लक्षित गरेर प्रत्येक वर्ष रोटी बनाएर विक्रिवितरण गर्दै आइरहेको छु” गुरुङ्गले भन्नुभयो ।

विगत धेरै वर्षदेखि चाडवाडमा मात्र रोटीहरु बनाउनेगरेको उहाँले बताउनुभयो । “गत साल झिलिङ्गा रोटीको अत्यधिक माग भयो, पुगउन सकिएन, हामीले शुद्ध चामलको पिठोबाट यो रोटी बनाउँछौ पूर्णरुपमा स्वस्थ र अर्गानिक छ । एक पटक हामीकहाँबाट लिनुभएको ग्राहकले पुनः माग गर्नुहुन्छ” उहाँले भन्नुभयो, “कसैकसैले कनिकाबाट पनि बनाउँछन् तर हामी त्यसो गर्दैनौं चामलबाट नै बनाउँछौ, ग्राहकको स्वास्थ्यप्रति पनि हामी सचेत छौं ।”

महिला उद्यमी गुरुङ्गले गतसाल १ केजीको ४ सय ५० रुपियाँमा विक्री गरेको तर यो वर्ष चामलको भाउ पनि बढेकाले ५ सय रुपियाँ प्रतिकिलो मूल्य तोकेको बताउनुभयो । किलोभन्दा कम लिन आउने ग्राहकका लागि ३० रुपियाँ प्रतिगोटा मूल्य तोकिएको उहाँले बताउनुभयो ।

झिलिङ्गा रोटी चाडवाडको समयमा धेरैले प्रयोग गर्ने गर्दछन् । झिलिङ्गा रोटीलाई आफ्नो ठाउँअनुसार कसैले झिनिया कसैले सिन्कामारी भनेर चिन्ने गर्छन् । 

ताजा समाचार

Related Articles