कोशीमा मध्यावधि रोक्न कार्कीलाई समर्थन

लोकप्रिय

बिजुवार, असोज २८ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेसलाई समर्थन गरेको बताउनुभएको छ ।

बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । मध्यावधिमा जाँदा देशले ठुलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले  त्यसलाई रोक्न एमालेले त्यस्तो कदम चालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था थियो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठुलो खर्च हुन्छ । त्यसबाट जोगाउन यो समर्थन गरेका हौँ ।’ 

ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदले विद्रोह गरेको उल्लेख गर्नुभयो । कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछिलागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर विद्रोह भएको भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उहाँको भनाइ छ ।  

ओलीले २०८४ को निर्वाचनमा हरेक वडादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘हरेक वडाबाट एमाले एक्लैले ५१ प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । नेकपा (एमाले) ले आफ्नै शक्ति निर्माण गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । 

ओलीले भन्नुभयो, ‘जनताको शक्ति निर्माण गर्नुपर्छ । विभिन्न जनविरोधीसँग मिलेर होइन परिवर्तनकामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ ।’ सुशासन विरोधी शक्तिहरूसँग मिलेर सुशासन ल्याउन नसकिने उहाँको भनाइ छ । 

‘भ्रष्ट तत्त्वसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न । त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हरेक पालिकाबाट, वडाबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरू एक ताल एक लयसाथ अघि बढ्नुपर्छ ।’

‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिँड्नुपर्छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अराजकता स्वच्छाचारिता लोकतन्त्र होइन । देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ ।’

उहाँले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भँगालो मिसिएपछि भेदभाव नगर्ने बताउनुभयो । कोशी प्रदेशमा कांग्रेसका शेखर कोइराला समूहका ८ जना र एमालेका सांसदको समेतको समर्थनमा केदार कार्की मुख्यमन्त्री हुनुभएको हो । 

ताजा समाचार

Related Articles