खोकनाको ऐतिहासिक १२ वर्षे मेला सुरु

लोकप्रिय

खोकना (ललितपुर), असोज २८ गते ।  

ललितपुरको खोकनामा ऐतिहासिक १२ वर्षे मेला सुरु भएको छ । यो जात्रामा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ अर्थात् गुप्तवास राखिन्छ । ललितपुर महानगरपालिका वडा नं. २१ र रुद्रायणी गुठीले आइतबार पत्रकार सम्मेलनगरी सो जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारेमा जानकारी दिएको छ ।

वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले विगतमा केन्द्रीय सरकारको मातहतमा यो जात्रा मनाइने गरे पनि संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको मातहतमा रहेको बताउनुभयो । उहाँले काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा सो पूजा गरिने जानकारी दिनुभयो । 

रुद्रायणी गुठीका ईलाखा बेखानारायण महर्जनले भन्नुभयो, “मैले २०२० साल, २०३२, २०४४, २०५६, २०६८ र अहिले २०८० मा मेरो उमेरको हकमा यो जात्रा गर्दैछु ।” उहाँले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्ने तथा नाच देखाइने बताउनुभयो । जात्रा अवधिभरमा देखाइने सिकाली नाच परम्परागत भएकाले विगतमा देखाइँदै आएका स्थानमा मात्र देखाउने परम्परा छ । 

गुठीका नायः योगेश महर्जनले नेपाललाई विश्वसामु चिनाउने विविध जात्रापर्व र संस्कृतिकमध्ये १२ वर्षे मेला पनि एक रहेको बताउनुभयो । सांस्कृतिक पक्ष सँगसँगै यो वर्ष अभिलेखिकरणमा समेत जोड दिइएको उहाँको भनाइ छ । यसको इतिहासलाई दीगो राख्न एवम् देशव्यापी बनाउने उद्देश्यले भावी दिनमा संस्कृति संरक्षणका लागि संग्रहालय बनाउन पनि जरुरी रहेको उहाँले बताउनुभयो । 

रुद्रायणी देवीको १२ वर्ष मेला २०८० गाईजात्राको भोलिपल्ट अर्थात् खोकनाबासीको स्थानीय गाईजात्राको दिनबाट गुफा राखेर सुरु गर्ने परम्परागत चलन छ । मेला अवधिमा खोकना गढभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्य तथा भोज भतेर कार्य पूर्णरुपमा प्रतिबन्ध गरिन्छ । जात्राको अन्त रुद्रायणी मन्दिर अगाडिको डबलीमा हुन्छ । सोही जात्रा नै १२ वर्षे मेलाको प्रमुख जात्रा हो । यसैबीच, सो जात्राबारे गाइएको भजन पनि सार्वजनिक गरिएको थियो ।

ताजा समाचार

Related Articles