सुदूरपश्चिमका भेडा, च्याङ्ग्रा पोखरामा

लोकप्रिय

लेखनाथ, असोज २८ गते । 

सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा बढी भेडा च्याङ्ग्रा यहाँ ल्याइएका हुन् । 

पोखरा महानगरमा भेडा च्याङ्ग्रा भित्रिएसँगै दशैंको रौनक थप भएको छ । बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब एक महिना लगाएर भेडा च्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । चीनको तिब्बतबाट खोजेर उहाँले भेडा च्याङ्ग्रा पोखरा ल्याउनुभएको हो । 

‘तिब्बतमा खोज्न जाँदा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । २६–२७ दिनमा बाजुरा ल्याएका थियौं’, थापा भन्नुभयो, ‘त्यसपछि तीन दिन तीन रातमा गाडीमा पोखरा ल्यायौं ।’

बाजुराका थापा पोहोर पनि भेडा च्याङ्ग्रा लिएर पोखरा आउनुभएको थियो । ७२ वटा भेडा च्याङ्ग्रा लिएर शनिबार पोखरा आउनुभएका उहाँले आइतबार बिहानसम्म पाँच वटा बेचिसकेको बताउनुभयो ।   

यस पटक भेडा च्याङ्ग्राको मूल्य व्यापारीले ३५ हजारदेखि ५७ हजार रुपियाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा भेडा च्याङ्ग्राको मूल्य ३२ हजारदेखि ४८ हजार रुपियाँसम्म थियो । बझाङबाट आउनुभएका अर्का व्यापारी भीमबहादुर जेठाराले एउटा च्याङ्ग्राको मूल्य बढीमा ५७ हजारसम्म पर्ने बताउनुभयो । 

जेठारा एकसय पाँचवटा भेडा च्याङ्ग्रा लिएर पोखरा आउनुभएको छ । आइतबार दिउँसोसम्म उहाँले १५ वटा भेडा च्याङ्ग्रा बिक्री गरेको बताउनुभयो । “हामीले नै २८–२९ हजारमा खरिद गरेका हौं । गाडी भाडा, अरु खर्च गर्दा हामीलाई पनि केही फाइदा हुनुपर्छ । २८ देखि ४० हजार मूल्य तोकेका छौं” उहाँले भन्नुभयो ।    

पोखरामा मुख्यगरी मनाङ, मुस्ताङ र म्याग्दीका व्यापारीले भेडा च्याङ्ग्रा ल्याउनेगरेका छन् । उनीहरुका भेडा च्याङ्ग्रा भने पोखरा आइपुगेका छैनन् । कोरोना महामारीपछि बन्द मुस्ताङको कोरला नाका र अन्तरदेशीय व्यापार मेलासमेत नहुँदा मुस्ताङमै च्याङ्ग्राको मूल्य आकाशिएको छ । नाका बन्द हुँदा मुस्ताङीहरुले तिब्बतबाट पाठापाठी ल्याउन पाएका छैनन् । 

ताजा समाचार

Related Articles