सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो

लोकप्रिय

धनगढी, असोज २८ गते । 

सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमित सङ्ख्या हजार नाघेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म एक हजार १४२ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । 

पछिल्लो तीन महिनामा अझ बढी सङ्क्रमण भएको तथ्याङ्कले देखाएको छ । अक्टोबर महिनाको हालसम्म १७७ जनामा डेङ्गु सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ । यसैगरी, अगस्टमा ३०८ र सेप्टेम्बरमा ३३० जनालाई डेङ्गु सङ्क्रमण भएको छ । 

तराईमा भयावह रहेको डेङ्गुले हिमाली जिल्ला बझाङ, बाजुरालाई पनि छोडेको छैन । बाजुरामा ६५ र बझाङमा १३ जनालाई डेङ्गु सङ्क्रमण भएको जनाइएको छ । यसैगरी, दार्चुलामा १९६, बैतडीमा २१, डडेल्धुरामा १०, डोटीमा १९, अछाममा ५३ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । 

तराई जिल्ला कैलालीमा सबैभन्दा बढी ५३७ र कञ्चनपुरमा २२९ जनालाई यस वर्ष डेङ्गु सङ्क्रमण भएको छ । डेङ्गुको सङ्क्रमणको जोखिम कायमै रहे पनि अब विस्तारै घट्दैजाने निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो । “अब विस्तारै सङ्क्रमण घट्छ । धेरै दिनसम्म रहँदैन” उहाँले भन्नुभयो ।  

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडिको समयमा घाम लागेको बेला टोक्नेगरेको जनाइएको छ । 

भाइरसबाट लाग्ने डेङ्गु आफै निको हुने रोग रहे पनि यसले ज्यान पनि लिनेगरेको छ । यो वर्ष डेङ्गुबाट सुदूरपश्चिम प्रदेशमा तीन जनाले ज्यान गुमाएका छन् । कञ्चनपुरमा दुई जना र दार्चुलामा एक जनाको डेङ्गुबाट ज्यान गएको निर्देशनालयले जनाएको छ । 

ताजा समाचार

Related Articles