नेपालमै लगानी गर्न मुख्यमन्त्री पाण्डेको आग्रह

लोकप्रिय

पर्वत, असोज २९ गते ।

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बस्ने नेपालीसँग साझेदारीमा विकास निर्माणका काम गर्न गण्डकी प्रदेश तयार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको जलजला गाउँपालिका–३, मल्लाजमा उद्घाटन गर्दै उहाँले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहनेहरूसँग सहकार्यमा परियोजना सञ्चालन गर्न आह्वान गर्नुभयो। 

“विदेशमा सिकेको सिप र कमाइलाई नेपालमा लगानी गरेर नेपालमै रोजगारीका अवसर बढाउनुहोस्,” पाण्डेले भन्नुभयो, “यसका लागि गण्डकी प्रदेश सरकार सहकार्य गर्न तयार छ ।”

उहाँले विदेशमा बस्ने नेपालीले होटल, पर्यटन र उत्पादनमा लगानी गर्नेहरूसँग सहकार्यका लागि नियम कानुन सहज बनाएर सहकार्य गर्न गण्डकी प्रदेशले बजेटसमेत विनियोजन गरेको बताउनुभयो । 

उहाँले अहिले देशमा बसेर केही हुँदैन भन्ने भाष्यलाई चिर्न पनि सबैले देशमै लगानी गरेर रोजगारी बढाउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी, कल्पना चापागाईं, प्रदेश सभाका सदस्य भक्त कुँवर, स्थानीय तहका प्रमुख उपप्रमुखलगायतको सहभागिता रहेको थियो । अधिवेशनमा विश्वभर छरिएर रहेका करिब तीन सय पर्वतका प्रवासी प्रतिनिधिहरूको सहभागिता रहेको छ । अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने अध्यक्ष झलक केसीले जानकारी दिनुभयो।  

ताजा समाचार

Related Articles