प्रहरी सेवालाई जनमैत्री बनाउनु आवश्यक 

लोकप्रिय

हेटौँडा, असोज ३० गते । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बदलिँदो अवस्थाअनुसार सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरी सेवालाई अब्बलसँगै प्रहरीमा रूपान्तरण आवश्यकभएको बताउनुभयो । 

६८ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले मङ्गलबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकार र सुरक्षा निकायबिचको सम्बन्ध सुदृढ हुनुपर्ने बताउनुभयो ।

उहाँले सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगले संसारलाई अलग्गै बनाएकाले र सकारात्मकभन्दा नकारात्मक विषय छिटो आउने भएकाले प्रहरीलाईसमेत शान्ति सुरक्षा कायम गर्न चुनौती बनेको भन्दै प्रहरी सङ्गठनलाई समयअनुसार रूपान्तरण गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले सीमित साधन र स्रोतबिच नेपाल प्रहरीले अनुसन्धान, कारबाही र शान्ति सुरक्षामा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै प्रहरीको सेवालाई सुदृढ र प्रभावकारी बनाउन प्रदेश सरकारले सहयोग गर्दै आएकोमा आगामी दिनमा पनि निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले वर्तमान व्यवस्थाप्रति सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताउँदै अहिलेका राजनीति ट्रयाकमा रहेको र बाहिर नगएको बताउनुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सङ्गठनलाई अझ सुदृढ, सक्षम र जनमैत्री बनाउँदै लैजानु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेशमा प्रहरीको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा प्रदेश सरकारको सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । कार्यक्रममा पूर्व प्रहरी हवल्दार ९२ वर्षीय डम्बरबहादुर खत्रीलगायतलाई सम्मान गरिएको थियो । 

ताजा समाचार

Related Articles