स्तन तथा पाठेघरको मुखको क्यान्सरको परीक्षणमा तीव्रता

लोकप्रिय

काठमाडौँ, असोज ३० गते । 

स्तन तथा पाठेघर मुखको क्यान्सर न्यूनीकरणका लागि क्यान्सर परीक्षणमा तीव्रता दिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखा र रोटरी इन्टनरनेशनलद्वारा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी एवम् सरोकारवालाले स्तन र पाठेघरको मुखको क्यान्सरसम्बन्धी  नियमितरुपमा परीक्षण गर्नुपर्ने बताउनुभएको हो । 

नेपाल क्यान्सर केयर फाउण्डेसनमा कार्यरत डा.सरिता घिमिरेले स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी समस्याबारे कम्तीमा दसदेखि १५ वर्षको अवधि अगाडि नै जानकारी लिन सकिने परीक्षणहरू गर्न सकिने सुविधा भएकोले महिलालाई सो सम्बन्धी नियमितरुपमा परीक्षणको पहुँचसम्म पुग्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । 

उहाँले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म पाठेघरको क्यान्सरमुक्त विश्व निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि यस सम्बन्धी थुप्रै कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्थामा नेपाली महिलाको क्यान्सर परीक्षणसम्म पहुँच नै नपुगेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सङ्गीता मिश्रले हाल क्यान्सरबाट बचाउन खोपको समेत व्यवस्था थालिएको बताउँदै स्तन तथा पाठेघरको क्यान्सर हुनुभन्दा अगाडिको सावधानीले निक्कै महँगो आर्थिक बोझ र मानव जीवन जोगाउन सकिने विचार व्यक्त गर्नुभयो ।

उहाँले रोटरी इन्टरनेशनलले देशव्यापीरुपमा स्तन र पाठेघरसम्बन्धी क्यान्सर परीक्षण गर्ने वातावरण तयार गर्न स्थानीय तह, स्वास्थ्य सम्बन्धी संस्थालगायतसँग समन्वय गर्न आग्रह गर्नुभयो । परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले स्तन र पाठेघर मुखको क्यान्सर विरुद्ध रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । 

त्यसैगरी डा.अनामिका कश्यपले ३० वर्षदेखि माथिका उमेर समूहका महिलाले नियमितरुवमा  पाठेघरको मुखको प्रारम्भिक परीक्षण र मेमोग्राफी गर्नुपर्नेमा जोड दिनुभयो । रोटरी क्लबका प्रेसिडेन्ट के.पी.उपाध्यायले रोटरी क्लबले स्तन र पाठेघरको क्यान्सर परीक्षणका लागि प्रेरित गर्न कुपन छापेर विभिन्न संस्थालाई न्यूनतम शुल्कमा किन्न आग्रह गर्ने त्यही कुपनमार्फत नजिकको स्वास्थ्य संस्थामा  आफ्नो संस्था वा कम्पनीमा कार्यरत महिला कर्मचारी, आफ्ना घरका महिला सदस्यलाई पठाउने योजना सञ्चालन गरिएको बताउनुभयो । 

त्यसैगरी रोटरी क्लब अन्तरगत पाठेघर क्यान्सरसम्बन्धी सचेतना शाखा प्रमुख डा.केशव भुर्तेलले रोटरी क्लबमा आबद्ध सदस्यहरूले स्वयंसेवाको भावनाले सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा महिला स्वास्थ्यको क्षेत्रमा स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउन काम गरिरहेको बताउनुभयो । 

ताजा समाचार

Related Articles