संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन

लोकप्रिय

भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘संविधान कार्यान्वयनका चुनौती अझै बाँकी रहेका छन्, त्यसप्रति सजग हुन आवश्यक छ, संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको छ, यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्छ ।’ विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउँदै उहाँले संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गएको बताउनुभयो । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस बलियो भए देश बलियो हुन्छ भन्दै काँग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन गाउँ तहदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकालले जानकारी दिनुभयो । कार्यक्रममा डा खिमलाल देवकोटा, डा बुद्धिमान श्रेष्ठ, प्रा कृष्ण खनाल, डा सुरेश आचार्यले प्रशिक्षण दिनुभएको उहाँले जानकारी दिनुभयो । रासस

ताजा समाचार

Related Articles