हेटौँडा, कात्तिक ८ गते ।
मकवानपुरको बागमती गाउँपालिका–८ स्थित चौराखोलामा तटबन्ध गर्ने कार्यसँगै स्थानीयको घर र खेतीयोग्य जग्गाको संरक्षण भएको छ ।
तटबन्धसँगै १५० घरधुरी लाभान्वित बनेका हुन् । चौराखोलामा तटबन्ध गरेपछि स्थानीयको घर बाढीको खतराबाट मुक्त भएको र ६० बिघा खेतीयोग्य जमिनसमेत सुरक्षित भएको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुलीले जानकारी दिनुभयो । तटबन्ध निर्माणपछि स्थानीयले खेती लगाउन खनजोतसमेत सुरु गरेका छन् ।
बागमती प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारले तटबन्धन निर्माण गर्न बागदाइ फाँट खेतीयोग्य जमिन बचाऊ आयोजनाका लागि ४० लाख रुपियाँ विनियोजन गरेको थियो । विनियोजित बजेटबाट उपभोक्ता समितिमार्फत १५७ मिटर भागमा तटबन्ध गर्ने कार्य सम्पन्न गरिएको छ ।