संस्कृतिले सभ्य समाज निर्माणमा प्रेरणा दिन्छ

लोकप्रिय

तुलसीपुर,  असोज ६ गते । 

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्नेगरेको बताउनुभएको छ । बडादसैं, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले नेपाली संस्कृति र संस्कार खराब प्रवृत्तिका  विरुद्धमा सुधारको पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले नेपालमा  सीमाका कारण लागुपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष साधवधानीपूर्वक अभियान थाल्नुपर्ने बताउनुभयो । 

उहाँले समाजमा बढ्दो दुर्व्यसनी हटाउन गृह मन्त्रालयको मात्रै पहलकदमी कमी भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले पछिल्लो समय घर परिवारका अभिभावकले बालबालिकामा कार्यव्यस्तताका कारण चासो नदेखाएका कारण दुर्व्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकले चासो बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकातर्फबाट लागुपदार्थ दुर्व्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नपुग्दा प्रभावकारी बन्न नसकेको बताउनुभयो । 

उहाँले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले देशकै जनशक्ति युवा लागुपदार्थ दुर्व्यसनी बढिरहेकाले यसको नियन्त्रणमा सबैको सहयोग, चासो अपरिहार्य रहेको बताउनुभयो । 

ताजा समाचार

Related Articles