तीन महिनामा सात करोड बढीको प्लाईउड निकासी

लोकप्रिय

बाँके, कात्तिक १० गते । 

नेपालगन्ज नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सात करोड रुपियाँ बढी मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आवको साउनदेखि असोज महिनासम्म सात करोड ६४ लाख ११ हजार रुपियाँ मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ । तीन महिनामा ८३ हजार ६०३ घनमिटर प्लाईउड भारततर्फ निकासी भएको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव २०७९–८० मा साउनदेखि असोज महिनासम्म एक करोड चार लाख मूल्यको ४२८ घनमिटर प्लाईउड मात्रै भारततर्फ निकासी भएको थियो । आर्थिक वर्ष २०७९–८० भन्दा चालु आवमा ६३४ प्रतिशतले प्लाईउड निर्यातमा वृद्धि भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०७९–८० मा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाईउड भारततर्फ निकासी भएको थियो । आव २०७८–७९ मा ८० लाख ३९ हजार रुपियाँ मूल्य बराबरको प्लाईउड भारततर्फ निकासी भएको थियो । प्लाईउड भारततर्फ धेरै परिमाण र मूल्यको निकासी हुने नेपाली वस्तुको चौथो नम्बरमा रहेको छ ।

नेपालगन्ज नाकाबाट जडिबुटी, खोटो रोजिन र खयर कत्था धेरै निकासी भएको छ । नेपालगन्जमा रहेका विभिन्न उद्योगहरुले उत्पादन गरेको प्लाईउड भारत निकासी गर्दै आएका छन् ।

भारतमा प्लाईउडको निकासी गर्दै आएको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले भारतको प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराईच, नानपारा लगायतका शहरहरुबाट ब्यवसायीहरु आफैँ नेपाली प्लाईउड खरिदका लागि पुग्ने गरेको जानकारी दिनुभयो । मियाले भन्नुभयो, ‘‘नेपालको प्लाईउडले भारतमा राम्रो बजार पाएको अवस्था छ ।’’

ताजा समाचार

Related Articles