तोकिएकोभन्दा बढी भाडा यात्रुलाई फिर्ता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १० गते ।

हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकमा चल्ने सार्वजनिक यातायातहरुले यात्रुसँग मनपरी भाडा असुली गर्न थालेका सार्वजनिक भएपछि प्रहरीले बढी भाडा असुली गर्न छ जनालाई नियन्त्रणमा लिएर बढी भाडा यात्रुलाई फिर्ता गराइएको छ ।
हरेक वर्ष चाडपर्वको समयमा काठमाडौँ जाने छोटो दुरीको मार्गसहित ग्रामीण सडकमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनहरुले झण्डै दोव्वर भाडा यात्रुसँगै असुरुलै आएका छन् । यो वर्ष पनि सुमोलगायतका सार्वजनिक यातायातका साधनहरु आफू खुशी बढी भाडा लिँदै आएपछि यात्रुहरुले गुनासो गर्दै आएकोमा दसैँको अवधिमा प्रहरीले काठमाडौँ चल्ने सुमोहरुका सञ्चालकहरुले यात्रुहरुसँग बढी भाडा लिईरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही गरेको हो । सुमो सञ्चालकहरुले तोकिएको भाडार दरभन्दा १५० देखि आठ सय रुपियाँसम्म बढी भाडा असुली गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोलीले हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना१ज ७२०४, काठमाडौँबाट हेटौँडा आउँदै गरेको ना१ज ६९९३, हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना१ज ५३७१, सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना१ज ५२०८, हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा.प्र. ०३–००१ज००१९ र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना१ज १७६४ नं. को सुमोले बढी भाडा यात्रुसँग असुली गरेको सूचनाको आधारमा सुमो सञ्चालकबाट फिर्ता गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बढी भाडा तिरेका ३८ जना यात्रुको १३ हजार सात सय रुपियाँ फिर्ता गराइएको हो ।
हेटौँडाबाट काठमाडौँसम्मको सुमो भाडा प्रति व्यक्ति ६५० रुपियाँ रहेकोमा सुमो सञ्चालकले चाडपर्वमा यात्रुको बढी चाप हुने मौका छोपेर प्रति यात्रु एक हजार दुई सय रुपियाँसम्म असुली गरेको प्रहरीले जनाएको छ । बढी भाडा लिने सार्वजनिक सवारी साधनलाई एक हजार रुपियाँदेखि पाँच रुपियाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

ताजा समाचार

Related Articles