बजेट अभावले आधारभूत अस्पताल अलपत्र

लोकप्रिय

हिले, कात्तिक १० गते । 

धनकुटाको महालक्ष्मी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको तयारी गरिएको छ । गत असारमै निर्माण सम्पन्न भएर अहिले सो अस्पताल सञ्चालन हुनुपर्ने थियो । तर भवनको जग हाल्ने बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।

सुरुमा रकम नआएर रोकिएको निर्माण कार्य अहिलेसम्म अघि बढ्न सकेको छैन । कहिले समयमा रकम नआउने त कहिले ठेकोदार कम्पनीको लापरबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको पालिका अध्यक्ष ध्रुवराज राय बताउनु हुन्छ । “सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न भई यतिबेला अस्पताल सञ्चालन आउनु पर्ने हो । तर कहिले पसै नआउने कहिले पैसा नभएपछि ठेकेदार हराउने समस्याले अस्पतालको भवन भने जग हाल्ने काम बाहेक केही अघि बढेको छैन” अध्यक्ष राय भन्नु हुन्छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माणको तयारी गरेको छ । तयारी अनुसार यो वर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढेको थियो । तर आधाकाम सम्पन्न नहुँदै बजेट आउन रोकिएपछि भवन निर्माण कार्यनै अलपत्र बनेको छ ।

अघिल्लो वर्षसम्म नियमित आएको बजेट यो वर्षबाट रोकिएको छ । अस्पताल निर्माणको काम करिब ५० प्रतिशतमात्र भएको छ ।

‘‘यो वर्षबाट बजेट नआउँदा अहिले काम ठप्प छ । ठेकेदारले बाँकी काम तीन महिनामा सकिन्छ भनेको छ । तर यो वर्ष बजेट नआउँदा थप काम अगाडि बढाउन सकिएको छैन ।’’ पालिका अध्यक्ष छत्र सुब्बाले भन्नुभयो, ‘‘पैसाका लागि पटक–पटक ताकेता गरे पनि कुनै सुनुवाइ भएको छैन । पैसा आएको भए धनकुटामा सबैभन्दा सुरुमा आधारभूत अस्पताल सञ्चालन गर्ने थियौं ।’’

धनकुटाको साँगुरीगढी गाउँपालिकामा आधारभूत अस्पतालका लागि जग्गा प्राप्ति र डिपिआर बाहेक अरु केही काम अघि बढ्न सकेको छैन । अघिल्ला जनप्रतिनिधिले अस्पताल निर्माणको प्रक्रिया नबढाएकाले काममा ढिलाई भएको र अहिले सबै प्रक्रिया पूरा गरी स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकेको पालिकाले जनाएको छ । तर मन्त्रालयबाट फाइल स्वीकृत भएर आइनसकेकाले काम अघि बढ्न नसकेको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राइले बताउनु भयो ।

सरकारले एक साथ आधारभूत अस्पतालको सिलान्यास गरेको करिब ३५ महिना बितेको छ । तर योे अबधिमा उपलब्धी भने लगभव शून्य छ । धनकुटाकै चौबिसे गाउँपालिकामा भने ४० प्रतिशत काम भएको छ । आधा पालिकाले आधा संघीय सरकारले खर्चगर्ने गरी सम्झौता भएकाले काम गर्न असहज भएको पालिकाले जनाएको छ । अघिल्ला जनप्रतिनिधिले आधापैसा पालिकाले  खर्च गर्ने गरी सम्झौता गर्नु भएको रहेछ पालिकासँग पैसा हुँदैन काम गर्न निक्कै कठिन भइरहेको पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले भन्नुभयो । शहिदभूमी गाउँपालिका र पाख्रिवास नगरपालिकामा पनि प्रगति निक्कै न्यून छ । 

ताजा समाचार

Related Articles