चित्लाङमा कात्तिके नाच सुरु

लोकप्रिय

हेटौँडा, कात्तिक ११ गते । 

मकवानपुरको पर्यटकीयस्थल चित्लाङमा कात्तिके नाच तथा स्वच्छन्द भैरवजात्रा सुरु भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन भैरवलाई बोका र कुखुराको बलि तथा अन्डा चढाएर पूजाआजा गरेर औपचारिक रूपमा भैरवजात्रा सुरु गरिएको हो ।

थाहा नगरपालिका–९, चित्लाङस्थित माझगाउँबाट स्वच्छन्द भैरव मन्दिरमा स्वच्छन्द भैरवको पूजाआजा गरेपछि स्वच्छन्द भैरवजात्रा सुरु हुन्छ । स्थानीय राजन बलामीका अनुसर हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन रातिबाट गुठियारले घरैपिच्छेबाट आएर भैरवको पूजाआजा गरी जात्रा सुरु गर्ने प्रचलन रहेको यो जात्रा यस वर्ष पनि शुक्रबारबाट सुरु जानकारी दिनुभयो । भैरवको मानन्धर परिवारको गुठियारले पूजाआजा सुरु गर्ने र देउला समुदायले बलि दिने गरिन्छ । यसअघि हाँस, राँगोलगायतका पञ्चबलि दिने प्रचलन रहेकोमा कटौती गरी कुखुरा र बोकाको मात्र बलि दिन थालिएको छ । नाच सुरु हुने अघिल्लो दिन गुभाजुले तान्त्रिक विधिबाट राँगा, हाँस, बोका, थुम्बा र कुखुराको बलि दिने प्रचलन रहेको थियो । 

कोजाग्रत पूर्णिमाको दिन गुठियार ले घरैपिच्छेबाट आएर भैरवको पूजाआजा गर्ने र भैरवको रथ टोल टोलमा पु¥याएपछि पूजा विसर्जन गरी जात्रा सम्पन्न गरिने स्थानीय बलामीले बताउनुभयो । उहाँका अनुसार पूजा विसर्जन गरेर भैरवको मूर्तिलाई स्थानीयवासीको घरमा राखेपछि भैरवजात्रा सम्पन्न हुन्छ । स्थानीयले आफ्नो क्षमता अनुसार भैरवलाई बोका, कुखुरालगायतका पशुपन्छीको बलि दिएका थिए । स्वच्छन्द भैरवजात्रा सम्पन्न गरी घरमा खाना खाएर आएपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन रातिबाट कात्तिके नाच सुरु गरिन्छ । पहिलो दिन कोजाग्रत पूर्णिमाको दिन शनिबार राति अशोक चैत्य डबलीमा तथा आइतबार र सोमबार राति नाटेश्वरी डबली खल हात्तीसारमा कात्तिके नाच प्रदर्शन गरी यो वर्षको भैरवजात्रा र कात्तिके नाच सम्पन्न गरिएको हो । पौराणिक कथामा आधारित हुने मल्लकालीन कात्तिके नाचमा ललितपुरको पाटनमा जस्तै गणेश, भैरव, वाराही, कुमारी, महालक्ष्मीलगायतका नौ देवीदेवताको नाच देखाइन्छ ।

रातभर लाग्ने नाच हेर्न थाहा नगरसँगै वरपरका गाउँ, काठमाडौँ, ललितपुरलगायतका स्थानबाट दर्शनार्थी आउने र जाग्राम बस्ने गरेको पाइन्छ । नाचमा प्रयोग हुने संवाद र शिलोक नेपाली, नेवारी, हिन्दी र संस्कृत भाषामा अभिव्यक्त गर्ने गरिन्छ । अन्तिमदिन कात्तिक १४ गते मङ्गलबार बिहान गणेश, भैरव, वाराही, कुमारी, महालक्ष्मीलाई राँगाको बलि दिएपछि आलो रगत देउतालाई खुवाएर नाच र जात्रा सम्पन्न गरिएको बलामीले बताउनुभयो । उहाँले भन्नुभयो, मानन्धरलाई गुठी चलाउने जिम्मा जङ्गबहादुर राणाको समयमा लगाएको रहेछ, बलामी समुदायले पूजाआजा र जात्रामा सहयोग गर्छन् । चित्लाङ क्षेत्रका बासिन्दाले स्वच्छन्द भैरवलाई मूल देवताको रूपमा पुज्दै आएका छन् । 

ताजा समाचार

Related Articles