नेपाललाई टि–२० विश्वकप खेल्ने अवसर

लोकप्रिय

काठमाडौँ, कात्तिक १२ गते । 

आइसिसी टि–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दैछ । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियागिता हुनेछ ।

यसअघि, नेपालले एक पटक सन् २०१४ मा टि–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलिसकेको छ । बङ्गलादेशमा भएको सो विश्वकपमा नेपालले तीनमध्ये दुई खेल जितेपछि रन औसतको आधारमा अघिल्लो चरणमा पुग्नबाट वञ्चित भएको थियो । जुन सामूहिक खेलमा नेपाली खेलकुदको अहिलेसम्मको ठूलो उपलब्धिको रुपमा छ । त्यसपछिका तीन टि–२० विश्वकपमा नजिक पुगेर पनि नेपाल चयन हुन सकेन । तर यसपालि उत्कृष्ट लय र घरेलु मैदान र दर्शकको फाइदा हुने भएकोले नेपाललाई विश्वकप टि–२० खेल्ने ठूलो अवसर छ ।

यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि–२० विश्वकप खेल्न पाउने प्रावधान छ । विश्वकप टि–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

टिमको मानसिकता राम्रो
प्रशिक्षक मोन्टी देसाइले आइतबार टोलीको नेपालको लक्ष्य ट्वान्टी–२० विश्वकपमा छनोट हुनु रहेको बताउनुभयो । प्रशिक्षक देसाइका प्रशिक्षकत्वमा नेपाली क्रिकेट टिमले पछिल्लो एक वर्षमा थुप्रै उपलब्धि हािसल गरेको छ । यद्यपि टि–२० विश्वकपक छनोटको तयारीस्वरुप नेपालमा गत हप्ता युएइ र हङकङ सामेल त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने नेपाल फाइनलमा युएइसँग हारेर निराश बनेको थियो ।

तर प्रशिक्षक देसाइले यसलाई निराश बनाउनुपर्ने नतिजाको रुपमा लिनुभएको छैन । त्रिदेशीय शृङ्खलामा फाइनलमा हार इतिहास भइसकेको छ । त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने हो, प्रशिक्षक देसाइको भनाइ छ । उहाँका अनुसार नेपाली टिमले हालका दिनमा जसरी खेलिरहेको छ । त्यसलाई हेर्ने हो भने यसपटक नेपालले विश्वकप टि–२० मा खेल्ने सुनौलो अवसर छ ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो ध्यान अहिले विश्वकपमा चयन हुनेमा नै छ । यसका लागि हामी खेलमात्र होइन, खेलाडी अनुशासन, मानसिकता आदि हरेक पक्षमा काम गरिरहेका छौँ । अहिले टिमको मानसिकता एकदम राम्रो छ । त्यो ठूलो कुरा हो । ठूलो प्रतियोगिता जित्न राम्रो प्रदर्शन मात्र होइन, कठिन समयमा संयम र धैर्यपूर्वक खेल्न पनि सक्नुपर्छ । खेलाडीहरुले अपेक्षाको दबाबलाई झेल्न सक्नुपर्छ । टि–२० क्रिकेटमा एक बलले पनि नतिजा परिवर्तन गर्न सक्छ भन्ने मानसिकतामा मेरो केटाहरुले खेल्नेछ । टि–२० तेज गतिमा खेलिने क्रिकेट हो । तर मेरा सबै खेलाडीले आ-आफ्ना भूमिका राम्ररी बुझेका छन् ।’’ उहाँले एक समयमा एक खेलमा मात्र ध्यान केन्द्रित गरेर रणनीति बनाउने जानकारी पनि दिनुभयो ।

सन्दीपका पुनरागमन
प्रशिक्षक देसाइले नेपालका स्टार लेग स्पीनर सन्दीपको पुनरागमनले पनि टिममा सकारात्मक प्रभाव पार्नेछ, भन्नुभयो । सन्दीपले आफू मानसिक दबाबमा रहेको भन्दै त्रिदेशीय टि–२० शृङ्खलाबाट आप्mनो नाम फिर्ता लिनुभएको थियो । तर उहाँले विश्वकप टि–२० छनोट खेल्नुहुनेछ । प्रशिक्षक देसाइले पनि सन्दीप नेपाली टिमका महत्त्वपूर्ण सदस्य हो भन्नुहुँदै उहाँको फिर्तीले टिममा सकारात्मक परिवर्तन हो, भन्नुभयो । कप्तान रोहितले पनि सन्दीप आएपछि टिम थप बलियो भएको बताउनुभयो ।

कप्तान रोहित आशावादी
कप्तान रोहितले सबै खेलाडीको सोचाई यसपटक जसरी भए पनि विश्वकपमा चयन हुनुपर्ने रहेको जानकारी दिनुभयो । ‘‘पछिल्ले केही विश्वकप छनोटमा हामी अन्तिम क्षणमा चिप्लिएका छौँ तर त्यसबाट शिक्षा लिएर खेल्नेछौँ । हामीलाई लाग्छ यसपालि विश्वकपमा चयन हुने धेरै सम्भावना छ । टिमको सन्तुलन राम्रो छ । ब्याटिङमा लचकता छ । गत महिनादेखि ब्याटिङ युनिट राम्रो छ । अनुभवी बलिङ आक्रमण छ । घरेलु वातावरणमा खेल्दैछौँ । घरेलु समर्थकको सहयोग र साथ हुनेछ । हामी घरेलु मैदानमा लगातार राम्रो क्रिकेट पनि खेलिरहेका छौँ तर टि२० मा भविष्यवाणी गर्न गाह्रो हुन्छ । त्यसैले कुनै टिमलाई हलुका रुपमा लिएका छैनौँ । सबैले शतप्रतिशत ध्यान दिएर खेल्नेछन्,’’ कप्तान रोहित भन्नुुहुन्छ ।

ताजा समाचार

Related Articles