चितवन, कात्तिक १३ गते ।
दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।
उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको छ ।
उहाँका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन् । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ ।
यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना बिदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ । दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना बिदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना बिदेशी र १६ पटक जीप सफारी गरिएको उहाँले बताउनुभयो ।
हाँका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एबम् दुई पटक जीप सफारी गरिएको छ । दसैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“गत वर्षहरुको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।”
रासस