माओवादी अभियान एक महिना थपियो

लोकप्रिय

काठमाडौँ, कात्तिक १३ गते । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो ।

पार्टी सचिव लीलामणि पोखरेलले गत भदौ १६ गतेदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको बताउनुभयो ।

‘घर घरमा माओवादी जन जनमा माओवादी’ भन्ने नाराका साथ सुरु भएको अभियान आगामी मङ्सिर १५ गते सक्ने निर्णय भएको थियो । अब अभियान पुस १५ गते सकिने भएको छ । उहाँले आइतबार बिहान बसेको पदाधिकारी बैठकले पार्टीको तीनमहिने अभियान र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भ्रमणका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले पार्टीको तीनमाहिने अभियानले सङ्गठन विस्तारमा राम्रो काम भएको नेताहरूले समीक्षा गरेको बताउनुभयो । “पार्टी अभियानमा सबै नेता कार्यकर्ता जोडिनुभएको छ । निष्व्रिmय भएकाहरू सक्रिय भएका छन् । अभियानले पार्टीलाई गतिशील बनाएको छ,” पार्टी सचिव पोखरेलले भन्नुभयो, “नयाँ सदस्यता र पुराना पार्टी सदस्यको नवीकरण गर्न समय लाग्ने भएकाले अवधि थप गर्ने निर्णय भयो । दसैँतिहार र छठ जस्ता पर्वले थोरै असर गरेकामा यो एक महिनाले पूर्ति गर्ने छ ।”

उहाँले अभियानले नै पार्टी कस्तो बन्ने निर्धारण गर्ने भएकाले सबै नेता कार्यकर्ता अभियानमा जोडिन आग्रह गरिएको बताउनुभयो । पार्टी अभियान सकिएलगत्तै माघ वा फागुनमा विधान सम्मेलन गर्ने माओवादीले तयारी गरेको छ ।  

ताजा समाचार

Related Articles