लागूऔषध फडानी गर्न ड्रोनसहित प्रहरी परिचालन

लोकप्रिय

हेटौँडा, कात्तिक १३ गते । 

मकवानपुरको पश्चिमी क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेती फडानी गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी परिचालन गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको लागू औषधको खेती फडानी गर्न ड्रोनसहितको प्रहरी टोली जिल्ला प्रहरी कार्यालय मकवानपुरले पठाएको हो ।

मकवानपुरका प्रहरी निरीक्षकको नेतृत्वमा ५५ जनाको टोली लागू औषध खेती फडानी गर्न राक्सिराङ गाउँपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ को विभिन्न क्षेत्रमा पठाएको छ ।

यस्तै, प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको टोली राक्सिराङ गाउँपालिकाकै वडा नं. १, २, ३ र ४ को विभिन्न क्षेत्रका लागि खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरीको टोली कैलाश गाउँपालिकाको विभिन्न वडाहरूमा पठाइएको छ । साथै प्रहरी वरिष्ठ नायव निरीक्षकको नेतृत्वमा ड्रोनसहितको दुई जना प्रहरीको टोली खटिएको बताउँदै प्रहरी प्रवक्ता भण्डारीले दुई गाउँपालिकामा गरी १३७ जना प्रहरी अवैध रूपमा लगाइएको गाँजा र अफिम खेती फडानी गर्न त्यसतर्फ गएको बताउनुभयो । मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश गाउँपालिकालगायतका पालिकामा अवैध रूपमा गाँजा र अफिम खेती गरी भारत निकासी हुँदै आएको छ ।

यसैबिच, प्रहरी अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । बकैया गाउँपालिका वडा नम्बर १२ ठिंगनस्थित कान्तिलोकपथमा यात्रुवाहक सवारी साधनमा सवार यात्रुहरूले मिनिरल वाटर, कोक तथा डिउको बोटलमा भरी ल्याएको मदिरा नियन्त्रणमा दिएर नष्ट गरिएको हो । करिब ३७५ बोटल घरेलु मदिरा बरामद गरी सम्बन्धित मदिरा धनीलाई नै नष्ट गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles