सय वर्षभन्दा पुराना घरको सङ्ख्या ३९ हजार

लोकप्रिय

काठमाडौँ, कात्तिक १४ गते । 

देशभरका ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ०.५ प्रतिशत घर एक सय वर्षभन्दा पुराना भएको पाइएको छ । देशभरमा रहेका पक्की र कच्चीसहितका उक्त घरमध्ये ३९ हजार ६७६ घर एक सय वर्षभन्दा बढीका रहेका छन् । ती घरलाई पुराना घरको रूपमा हेरिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको घर तथा परिवारसम्बन्धी विवरणमा देशभरका कुल घरमध्ये ०.५ प्रतिशत घर एक सय वर्षभन्दा बढी आयु भएको उल्लेख गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले घरको आयुलाई एक वर्ष, दुई वर्ष हुँदै पाँच वर्षसम्म एक वर्गमा राखेको छ । त्यसपछि पाँच–नौ वर्ष,  १०–१४ वर्ष,  १५–१९ वर्ष वर्गमा वर्गीकरण गरेको छ । त्यस्तै २०–२९ वर्ष,  ३०–४९ वर्ष,  ५०–९९ वर्षको फरक फरक वर्ग निर्धारण गरिएको छ । अन्तिममा १०० वर्षभन्दामाथिका भनी सबै घरलाई एउटै वर्गमा राखिएको छ ।  

पुराना घरमध्ये कोशी प्रदेशमा आठ हजार १३८, मधेशमा चार हजार ५५०, बागमतीमा छ हजार १८५ रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा छ हजार १७३, गण्डकीमा छ हजार ६९८, कर्णालीमा दुई हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ४५३ वटा घर पुराना रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विवरण सङ्कलन गर्ने क्रममा घर तथा घर परिवारको विवरण पनि सङ्कलन गरेको थियो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले कार्यालयले सङ्कलन गरिएको विवरण अनुसार ०.५ प्रतिशत घर एक सय वर्षभन्दा बढी रहेको पाइएको बताउनुभयो  ।  उहाँका अनुसार कुल घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत घर एकतले छन् । 

दोस्रोमा २८.७८ प्रतिशत घर दुईतले, ९.१७ प्रतिशत घर तीनतले, १.३ प्रतिशत घर चारतले, ०.६४ पाँचदेखि साततले, ०.०१ प्रतिशत घर  आठदेखि नौतले,  ००.३ प्रतिशत घर दसभन्दा बढी तले छन् । मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा धेरै कुल ८४.४२ प्रतिशत छन् भने  पाँच वा पाँचभन्दा बढी तला भएका घर सबैभन्दा धेरै बागमती प्रदेशमा २.३४ प्रतिशत छन् ।  

देशभरका कुल ६६ लाख ६० हजार ८४१ संस्थागत परिवारबाहेकका ६१.८९ परिवारको कम्तीमा एक जना सदस्यको बैङ्क तथा वित्तीय संस्थामा खाता रहेको पाइएको छ । उक्त परिवारमध्ये १२.५५ प्रतिशत परिवारका कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम लिएका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ हजार रहेको छ । राष्ट्रिय जनगणना २०७८  साल कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन भएको थियो । 

जनगणनाको पूर्ण विवरण सार्वजनिक भए पनि विभिन्न २० वटा प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म तीन वटा विवरणको प्रतिवेदन सार्वजनिक भइसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

ताजा समाचार

Related Articles