सुकुमलालको यो वर्षको दसैँ नयाँ घरमा

लोकप्रिय

हेटौँडा, कात्तिक १४ गते । 

कटेरोमा बास बस्दै आएका सुकुमलाल प्रजाको परिवारले यो वर्षको दसैँ चिटिक्कको नयाँ घरमा मनाएको छ । मनकारी दाता र सहयोगी संस्थाको सहयोगमा दुईकोठे भवन बनेसँगै यो वर्षको दसैँ सुकुमलाल र उहाँको परिवारले खुसियाली साटासाट गर्दै मनाएका हुन् । उहाँको बारेमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो ।

सुकुमलालको परिवारको यसअघि लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने कटेरोमा बास थियो । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेका सुकुमलाल प्रजाको पाँच जनाको परिवारले कटेरोमा बसेर दैनिक गुजारा गर्दै आएको थियो । सहृदयी दाताको सहयोगमा चिटिक्कको पक्की घर पाएसँगै सुकुमलाल र उहाँको परिवारको बसाइ सहज मात्र भएको होइन, अब दैनिकीसमेत फेरिएको छ ।

स्थानीय युवा राजन तामाङसहितको सव्रिmयता र समन्वयका कारण सुकुमलालले नयाँ घर पाउनुभएको हो । दाताको सहयोगमा पहिला एककोठे भवन मात्र बनेको थियो । गत साउन २५ गते गोरखापत्र दैनिकको पहिलो पृष्ठमा ‘सुकुमलाललाई नयाँ घर’ शीर्षकको समाचार प्रकाशित भएसँगै अर्को कोठा बनाउन दाता संस्थाको सहयोग जुटेको हो । 

एककोठे भवन बनेको छ तर सुकुमलालको परिवार सङ्ख्या धेरै भएको हुँदा बासका लागि समस्या हुने भएकाले कोठा थप गर्न दाताको खोजी गरिएको समाचार प्रकाशित भएसँगै सत्य साई केन्द्र अनामनगर, काठमाडौँले थप कोठा निर्माण गर्न इच्छा देखाएको थियो । केन्द्रका सल्लाहकार डा. विश्वदीप अधिकारीले थप कोठा बनाउन इच्छुक रहेको बताउँदै सहयोग गरेपछि स्थानीय युवा राजन तामाङको समन्वय र सहजीकरणमा अर्को कोठा निर्माण गरिएको थियो ।

भवन निर्माणमा सहजीकरण गर्नुभएका तामाङले दुईकोठे भवन बनेसँगै सुकुमलालको परिवारलाई बस्न सहज भएको बताउँदै यो वर्ष नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी व्यक्त गरेको बताउनुभयो । यसअघि सुकुमलालको परिवार बारबेर केही नभएको चारैतिर खुला भएको कटेरोमा बस्दै आउनुभएको थियो । न भान्सामा पकाउने भाँडावर्तन नै गतिला थिए, न त लाउने कपडा नै गतिला । चिसो छल्न ओढ्ने ओछ्याउने पनि थिएन ।

सुकुमलालको परिवारलाई दसैँमा समेत सत्य साई केन्द्रले सहयोग गरेको थियो । केन्द्रका अध्यक्ष श्रीमती शशीकला प्रधानले संस्थामार्फत दसैँमा लत्ताकपडासहित खाद्यान्न उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दसैँ सबैका लागि हो । सुकुमलालको परिवारलाई दसैँ मनाउन सहज होस् भनेर सहयोग गरेका हौँ ।” पछि थप गरिएको कोठा बनाउन करिब दुई लाख रुपियाँ खर्च भएको तामाङको भनाइ छ । “पहिला कोठा बनाउँदा कामदार खर्च लागेको थिएन । अहिले घर बनाउने कामदारका लागि ज्याला खर्च भएसँगै खर्चसमेत बढेको छ,” भवन निर्माणमा संयोजन गर्नुभएका तामाङले भन्नुभयो । सुरुमा चर्पीसहितको एककोठे घर निर्माणमा दुई लाख १८ हजार ७५० रुपियाँ खर्च भएको जनाइएको छ । 

ताजा समाचार

Related Articles