भूकम्पबाट १३ जना घाइते, तीन घर भत्किए

लोकप्रिय

रुकुम पश्चिम, कात्तिक २० गते । 

सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् । यसैगरी, जाजरकोटमा तीनवटा घर भत्किएको जानकारी जिल्ला प्रहरी जाजरकोटमा डिएसपी सन्तोष रोकायले दिनुभयो । 

दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा भएर आएको ५.८ रेक्टरस्केलको भूकम्पले जिल्लाको आठबिसकोट नगरपालिकाका चारजना, चौरजहारी नगरपालिकाका दुईजना र सानीभेरी गाउँपालिकाका एकजना गरी सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रबि केसीका अनुसार वडा नम्बर ११ का ३७ वर्षका बीरबहादुर बुढा, सुवासना आग्री, वडा नम्वर १२ निवासी २२ वर्षीय सुरज बिक र वडाका ५ वर्षीया ज्ञानिल बिक घाइते हुनुभएको छ ।  घाइते चारजनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । 

त्यसैगरी, भूकम्पमा परेर घाइते चौरजहारी नगरपालिका ४ का १५ वर्षीया लक्ष्मी नेपाली र वडा नम्वर ७ का ३१ वर्षीय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।  

सानीभेरी गाउँपालिका ४ आमलाटाकुरा गाउँका घाइते एक जनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भइरहेको स्थानीय डिल्ली परियारले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

यसअघि गत शुक्रबार जाजरकोटको रामिडाँडा नै भएर आएको ६.४ रेक्टरस्केलको भूकम्प आएको थियो । उक्त भूकम्पले रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको थियो । 

ताजा समाचार

Related Articles