समुदायमा आधारित कृषि प्रणालीमा जाँदैछौं : मुख्यमन्त्री

लोकप्रिय

हेटौँडा, कात्तिक २० गते । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिक्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताउनुभएको छ । उहाँले कृषिमा भएको व्यक्ति केन्द्रित अनुदान लगानीबाट प्रतिफल प्राप्त नभएकाले बागमती प्रदेश सरकार समुदायमा आधारित कृषि प्रणालीमा जान लागेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौँडामा भएको सोह्रौँ योजना (२०८१/०८२–२०८५/०८६) तर्जुमासम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले कृषिमा यसअघि व्यक्ति केन्द्रित गरी दिइएको अनुदान पहुँचवालाले मात्र पाएको बताउनुभयो ।

राजनीतिक परिवर्तनमा क्रमभङ्ग भयो, प्रशासनिक क्षेत्रमा पनि सङ्घीयताको भावनाअनुसार परिवर्तन हुँदै छ तर योजना निर्माणमा पुरानै मानसिकता रहेको बताउँदै उहाँले भौगोलिक अवस्था र आवश्यकताका आधारमा योजना निर्माणमा विशिष्टीकरण आवश्यक भएको औँल्याउनुभयो । उहाँले स्थानीय आवश्यकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले अहिले हामी पन्ध्रौँ योजनाको अन्तिम वर्षमा रहेको बताउनुहुँदै दिगो विकासका लक्ष्यहरु प्राप्ति हुने गरी आगामी योजना बन्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापाले विकासको मोडलमा परिवर्तन गर्न नागरिक लक्षित योजना तर्जुमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक यदुनाथ आचार्यले पन्ध्रौँ योजनाको समिक्षा, प्रगति, सोह्रोँ योजनाको आवश्यकता, नेपालको विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

बागमती प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, प्रदेशका सचिवहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको छलफल कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।

ताजा समाचार

Related Articles