महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक बन्द हुने

लोकप्रिय

हेटौँडा, मङ्सिर २१ गते ।

हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द हुनेभएको छ ।

मकवानपुर र काठमाडौँको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द हुनेभएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले सडक खण्डको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको निर्धारित समय सीमाभित्र सडक निर्माण कार्य पूरा गर्न सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो ।

हेटौँडा–काठमाडौँ आवत–जावत गर्ने सुमो लगायतका साना सवारीका साधनको चाप अधिक हुँदा काममा अवरोध पुग्ने भन्दै उहाँले सडक स्तरोन्नति कार्य निर्धारित समय सीमाभित्र सम्पन्न गर्न बिहीबारबाट आगामी पुस २१ गतेसम्मका लागि सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो ।

उहाँले काठमाडौँतर्फ मोडहरूमा ढलान कार्य सुरु गरिने र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । मकवानपुरको महालक्ष्मी खोलादेखि मकैबारी सडक खण्डमा टेवा पर्खाल निर्माण, सडक चौडा लगायतका कार्य हुनेभएको छ ।

प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको दुवै सडकखण्ड निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको भए पनि पछिल्लो समय म्याद थप भएको समयमा पनि निर्माणको काम पूरा भएको छैन ।

ताजा समाचार

Related Articles