संस्कार बन्दै सूचना लुकाउने शैली

लोकप्रिय

– मानवी बानियाँ
दिनभरी कामको थकानबाट, साँझ घरमा आराम गर्दै, चिया पिँउदै दिनभरको मोबाइलको कल डिटेलस् हेर्छु । पर्सनल सिम, पर्सनल मोबाइल भएपनि संचार कर्ममा रहेकाले धेरैजसो सूचना खोज्न गरिएका वा कल, संवादहरु हुन्छन्, त्यसमा पनि बढी जसो, विभिन्न कार्यालयका प्रवक्ताहरुको नम्बर । ल्याण्डलाइनबाट मोवाइलमा गर्यो फोन उठदैन । त्यसैले पनि कार्यालयको काममा पनि आफ्नै मोबाइल प्रयोग गर्छु । कामको सिलशिलामा सम्पर्क गर्ने निकाय वा व्यक्ति धेरै हुन्छन् । लाग्छ मेरो मोवाइलमा मात्र होइन म जस्तै श्रमजिवी सञ्चारकर्मीको धेरैको मोवाइल सार्वजनिक पदाधिकारी कै नम्बर बढी हुन्छन् ।

विभिन्न मुद्दामा सामाचार तयार पर्दा, अधिकारीक भनाई, आधिकारीक स्रोत बिना समाचार विश्वसनीय, र तथ्यपुर्ण बनाउन सकिदैन । विभिन्न मन्त्रालय, विभाग वा कार्यालयका सकेसम्म प्रवक्ता नभए कार्यालयका प्रमुख, आधिकारीक कर्मचारीको सूचना आवश्यक पर्छ । तर हामीले खोजेको समयमा प्रवक्ताको फोन उठ्नै मुस्किल हुन्छ । १० औं पटकसम्म प्रयास गरिएको हुन्छ । नत फोन उठ्छ, नत कलब्याकनै । केही अपबादको रुपमा कलब्याक पनि नहुने होइन । तर धेरैजसो प्रबक्ताहरुलाई संचारकर्मीको कल रिसिभ नगर्ने र कल ब्याक पनि नगर्ने बानी लागेको छ । एउटा सामान्य रुपमा हेर्ने हो भने पनि १० पटकसम्म कसैले फोन गरे, के भएछ ? किन होला ? भन्दै कलब्याक गर्छौ तर, सूचना दिने जिम्मेबारीमा बसेका प्रवक्तालाई फोन आउनु त सामान्यनै हो भन्ने लाग्छ । त्यसैले फोन उठ्दैन र त कलब्याक आँउदैन ।

दैनिक यस्ता खालका समस्याहरु आइपर्दा, काममा समेत मनोबल उच्च हुन सक्दैन् ।आधिकारिक सूचनाका लागि प्रवक्तालाई सम्पर्क गर्न खोज्दा, कतिपय मन्त्रालय, विभाग तथा कार्यालयको वेभसाईटमा प्रवक्ता नाम हुन्छ, सम्पर्क नम्बर हुँदैन । राखिए पनि धेरैजसो ल्याण्डलाइन मात्रै । उक्त नम्बरमा फोन गर्दा पहिलो त फोन उठदैन भने उठिहाले प्रवक्ता भेटिदैन । अर्का तर्फ नम्बर माग्दा व्यक्तिगत नम्बर दिन मिल्दैन भन्ने जवाफ आउछ । सूचना दिन तयार र सम्बन्धित सुचनाको जानकारी दिने जिम्मेवारीमा रहेका प्रवक्ता सूचनाबाट दिने कामबाट पन्छिने प्रवृति पछिल्लो समय सरकारी निकायमा संस्कारको रुपमा मौलाएको देखिन्छ ।

कुनै समय हरेक प्रवक्ताको मोवाइल नम्बर राखिने सरकारी कार्यालयका वेभसाइटबाट विरलै मात्र प्रवक्ताको नम्बर भेटिने गरेको छ । धेरैजसोमा सुचना अधिकारीको नम्बर राखिएको छ तर, उहाँहरुल्ले बोल्ने सुचना दिने आफ्नो जिम्मेवारीमा नरहेको जानकारी गराँउछन् । अर्का तर्फ १० बजे सुचना लिन फोन गर्दा, ३ बजेपछिमात्रै फुर्सत मिल्छ त्यो भन्दा अघि मिटिङ हुन्छ मिल्दैन् भन्ने जवाफ आउछ । के आधिकारीक सुचना दिन तथ्यपुर्ण र विश्वसनीय सुचनाले नागरिकलाई सुसुचित बनाउने काम फुर्सदमामात्र गर्ने होॽ यो कुनै जिम्मेवारी होइन रॽ

प्रवक्ता सम्बन्धि कानुनी ब्यवस्था के छ ?

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ३४ को उपदफा १ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको काम कारबाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन मन्त्रालय, विभाग तथा सरकारी निकायमा एवं कार्यालयको कुन अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था गरिएको छ ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम २४ मा प्रवक्ताको काम, कर्तव्य र अधिकार तोकिएको छ जसमा आफू कार्यरत निकायमा रहेका सार्वजनिक गर्नु पर्ने सूचना प्राप्त गर्ने, सार्वजनिक गर्नु पर्ने विषयका सूचनाहरु आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिई नियमित रुपमा सार्वजनिक गर्ने, कसैले कार्यालय संग सम्बन्धित खास विषयको जानकारी माग गरेमा प्रचलित कानून बमोजिम जानकारी दिने कुरा उल्लेख छ । यो कानुनी र नीतिगत ब्यवस्थाका बीच पनि प्रवक्ताको भुमिका र जिम्मेवारीमाथि धेरै प्रश्न हरु सतहमा छन् । पहिलो त सम्पर्कमा मै आउन नचाहने प्रवक्ताले सूचना कसरी दिन्छन ? कानुन कार्यान्वन गर्ने, नीति निर्माण गर्ने र लागु गर्ने ठाउँमा बस्नेहरुले आफैले बनाएका नीति नियमको पालना गर्न प्राथामिकता ठान्दैन भने मिथ्या र भ्रमपूर्ण सूचनाको बाढी रोक्न नियमन गर्ने निर्देशिका बनाउँदैमा पुरा हुँदैन । यसका लागि सहि तथ्य परक सूचना दिन प्रवक्ता तयार हुन आवश्यक छ ।

एउटा आधिकारी सुचनाको लागि प्रवक्ताले समय दिन सक्दैन्, कार्यालयले प्रवक्ता तोक्न सक्दैन र तोकिएको प्रवक्ताको मोवाइल नम्बर सार्वजनिक गर्न सक्दैन् भने प्रवक्ताकको नाम वेभसाइटमा राख्दैन सूचना दिने जिम्मेवारी पुरा हुँदैन । कानुन अनुसार प्रवक्ता तोकिएका छन् तर कार्यान्वयनको सिलसिलामा किन यति धेरै फितलो छ ? मेरो प्रश्न, यो लेख्दै गर्दा लाग्छ यो मेरो मात्र प्रश्न होइन आधिकारीक सुचना चाहने सर्व साधारणदेखि आमश्रमजिवि पत्रकारहरुको प्रश्न हो । यो भन्दैगर्दा, कतिपय प्रवक्ताहरु जो आफ्नो जिम्मेवारी कुशलता पुर्वक निभाइ रहनु भएको छ उहाँहरु प्रति गुनासो होइन । गुनासो हो त प्रवक्ताको जिम्मेवारी लिने तर सूचना दिन नचाहने प्रवृति प्रति हो ।
– नेपाल टिभी अनलाइनबाट

ताजा समाचार

Related Articles