सुशासन र समृद्धिका निम्ति कसैसँग सम्झौता गर्दैनौ

लोकप्रिय

विराटनगर, माघ ७ गते ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन र समृद्धिका निम्ति सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

विराटनगर, इटहरी तथा झापाको सुरुङा बजारमा प्रदेश सरकारले स्थापना गरेको विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आज विराटनगरबाट एकसाथ शुभारम्भ गर्नुहुँदै उहाँले राजनीतिक तथा कानुनी रुपमा यो सरकारी स्थायी र दिगो भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले कसैको स्वार्थ र फाइदाका लागि भन्दा सामूहिक हितका लागि योजना बनाएर अघि बढ्न सबै मन्त्रालयलाई आग्रह गर्नुभयो ।

मानवीय विकास विना भौतिक विकास सम्भव नहुने भन्नुहुँदै उहाँले सरकारले जनताको मन जित्ने गरी काम गर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कमलप्रसाद जवेगुले पहाडी लगायत दुर्गम स्थानका यातायातको साधनको पहुँच पुगेका स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खानेपानी सिचाई तथा ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार झाले विद्युतीय सवारी साधनको माग र आवश्यकता अनुसार चार्जिङ स्टेसन स्थापना गर्दै जाने बताउनुभयो ।

खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय कोशी प्रदेशको सहयोगमा करिब सवा करोडको लागतमा तीन स्थानमा चार्जिङ स्टेसन स्थापना गरिएको हो ।

६०–६० किलोवाट क्षमता भएको तीन वटा चार्जिङ सेन्टरमा एकै पटक दुई वटा विद्युतीय गाडी चार्ज गर्न सक्ने व्यवस्था मिलाइएको छ । आधा देखि एक घन्टामा विद्युतीय गाडी चार्ज गर्न सकिने जनाएको छ ।

ताजा समाचार

Related Articles