मकवानपुर गोल्डकप माघ १६ गतेबाट

लोकप्रिय

मकवानपुर माघ ७ गते ।
छैटौँ संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० माघ १६ गतेबाट हुने भएको छ ।

हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा हुने प्रतियोगिता माघ १६ गतेबाट २७ गतेसम्म सञ्चालन हुने आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले जानकारी दिएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय तथा मकवानपुरका १० वटै स्थानीय तहको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको यस संस्करणमा देशका चर्चितसहित १२ वटा फुटबल क्लबको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा चर्च ब्वाईज क्लब, सङ्कटा क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, बागमती युथ क्लब, थ्री स्टार क्लब, रिगल हेटौँडा रिसोर्ट र राजारानी क्लब धनकुटा र एउटा विदेशी क्लब पारा एफसी भुटानको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल परशुराम स्मृति प्रतिष्ठानले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने बताइएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि एक करोड ६० लाख ५० हजार लागत अनुमान गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताउनुभयो ।

ताजा समाचार

Related Articles