रसुवा, माघ १९ गते ।
रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) निर्माणको कामले पछिल्लो समय गति लिएको छ । हालसम्म निर्माणको काम ५२ प्रतिशत पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रतिनिधि आशिष गजुरेलका अनुसार भोटेकोशी किनारमा लगाइएको प्रोटेक्शन वालको काम सकिएको छ भने वालमा माटो भर्ने, बाटो निर्माण गर्ने तथा भवन निमार्ण गर्ने कार्य तीब्र गतिमा भइरहेको छ ।
कम्पनीका अनुसार सन् २०२५ सम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपैयाँ रहेको छ ।
बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् भने त्यहाँ भित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुईवटा भवन निर्माण गर्ने योजना छ ।
नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।