चिकित्सकलाई प्रोत्साहन सुविधाको कार्यविधि तयार

लोकप्रिय

बागमती प्रदेश अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले प्रोत्साहन सुविधा पाउने भएका छन् । विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन भएका प्रदेश सरकारमातहतका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले थप प्रोत्साहन सुविधा पाउने भएका हुन् ।

दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागु भएकासहित प्रदेश सरकारमातहतका १३ वटै अस्पतालमा विस्तारित अस्पताल सेवा सञ्चालन गरिने भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन सुविधा प्रदान गर्नका लागि विस्तार अस्पताल सेवा सञ्चालनबाट प्राप्त भएको आयमा प्रत्यक्ष खर्च कटाएर बाँकी आयमध्ये २० प्रतिशत रकम अस्पतालको कोषमा जम्मा गरी बाँकी रहेको ८० प्रतिशतलाई सय प्रतिशत मानेर प्रोत्साहन सुविधा प्रदान गर्न प्रदेश सरकारले कार्यविधि बनाएको छ ।

दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन कार्यविधि, २०८० मा विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले कार्यालय वा सेवा प्रवाहमा अनुपस्थित रहेको समयको प्रोत्साहन सुविधा नपाउने व्यवस्था गरिएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशभित्रका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्ने र उनीहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यसहित कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसले प्रदेश मातहतमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी अस्पताल सञ्चालन र अन्यत्र काम गर्न जाने बढ्दो प्रवृत्तिलाई कम गर्न सहयोग पुग्ने अपेक्षा राखिएको उहाँको भनाइ छ ।

प्रोत्साहन सुविधा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई ९० प्रतिशत र लेखा, प्रशासन, स्टोर, काउन्टर, मेडिकल रेकर्डर, बायोमेडिकल, सरसफाइलगायतका कर्मचारीलाई १० प्रतिशत प्रदान गर्ने कार्यविधिमा उल्लेख छ । विस्तारित अस्पताल सेवा सञ्चालनका समयमा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गर्दा चिकित्सकीय परामर्श शुल्क र अन्य स्वास्थ्य सेवा शुल्क मन्त्रालयले तोक्ने छ ।

निजी अभ्यास गर्न नपाइने

विस्तारित अस्पताल सेवा सञ्चालन भएका अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक, चिकित्सकलगायत अन्य स्वास्थ्यकर्मीले निजी, सहकारी, सामुदायिक र मेडिकल कलेज वा अन्य स्वास्थ्य संस्थामा सेवा प्रदान गर्न वा काम गर्न वा व्यवसाय सञ्चालन गर्न वा निजी अभ्याससमेत गर्न पाउने छैनन् ।

विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले स्वघोषणा फाराम भरी हस्ताक्षर गरी कार्यालय प्रमुखसमक्ष पेस गर्नुपर्ने र कार्यालय प्रमुखले प्रमाणित गरी स्वास्थ्य निर्देशनालयमा पेस गर्नुपर्ने गरी व्यवस्था भएको मन्त्रालयका सूचना अधिकारी

डा. रविन भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने अस्पतालले विस्तारित अस्पताल सेवा सञ्चालन गरेको समयमा सेवाग्राहीलाई उपलब्ध गराएको सेवासम्बन्धी सङ्ख्या, विवरण र अन्य अभिलेख देखिने गरी राख्नुपर्ने छ ।

साथै कार्यविधिविपरीत कार्य गरेको पाइएमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा लेखी पठाउने व्यवस्था गरिएको छ । यस्तै झुटा वा नक्कली विवरण पेस गरी प्रोत्साहन सुविधा लिएको पाइएमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीबाट सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने र यसरी झुटा वा नक्कली विवरण पेस गर्ने चिकित्सक वा स्वास्थ्यकर्मी र प्रमाणित गर्ने कार्यालय प्रमुखलाई समेत कारबाहीका लागि सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ ।

अस्पतालले विस्तारित सेवा दिँदा उक्त महिनामा निदान गरेका मुख्य मुख्य समस्या वा रोग उल्लेख गर्नुपर्ने छ । निदान भएको समस्या उपचार गरिएको ओपिडी, इमर्जेन्सी वा अन्तरङ्ग विभागमध्ये कुन विभाग हो, सो उल्लेखसँगै विस्तारित सेवामा ओपिडी, इमर्जेन्सी वा अन्तरङ्ग विभागमा निदान भएकामध्ये उकत महिनामा भर्ना भएका, अन्यत्र प्रेषण गरिएका, डिस्चार्ज भएका, मृत्यु भएका वा अन्य (सेवा बिचमा छाडेका तथा अन्य) को सङ्ख्यासमेत उल्लेख गरी माथिल्लो निकायमा पठाउनुपर्ने सूचना अधिकारी भुसालले बताउनुभयो ।

चिकित्सकले अस्पतालमा रही सेवा प्रदान गरुन्जेल कुनै पनि प्रकारको निजी, सहकारी, सामुदायिक र मेडिकल कलेज, अस्पताल वा अन्य स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने वा काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने वा निजी अभ्याससमेत गर्ने छैन भन्दै स्वघोषणा फाराम भर्नुपर्ने हुन्छ । गरेको पाइएमा कार्यविधिले तोकेबमोजिमको कुनै पनि सेवासुविधा लिनयोग्य हुने छैन र सुविधा लिएको पाइएमा प्रचलित कानुनबमोजिम सजाय भोग्ने र लिएको सुविधा फिर्ता गर्ने छु भनी स्वयम् घोषणा गर्दछु भन्दै कर्मचारीले हस्ताक्षरसहित प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था गरिएको छ ।

ताजा समाचार

Related Articles