मौलाउँदै अफिम खेती

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय लागुऔषध अफिम खेती मौलाउँदै गएको छ । विगतमा गाँजा खेती मात्र हुने गरेको क्षेत्रमा पछिल्ला वर्षमा अफिम खेती बढ्दै गएको हो । मकवानपुरको पश्चिमी क्षेत्रसँगै चितवन, धादिङलगायतका जिल्लाका पहाडी र विकट स्थान अहिले अवैध अफिम खेती फुलेर सेताम्मे बनेको छ ।

लागुऔषध अफिमको अवैध खेती बढ्दै गएपछि बागमती प्रदेशका विभिन्न जिल्लामा प्रहरीले अफिम खेती फँडानी अभियान सञ्चालन गरेको छ । गाँजा र अफिम खेती हुँदै आएको मकवानपुर, चितवन र धादिङ जिल्लामा गत महिनाबाट अफिम खेती फँडानी अभियान

सञ्चालन गरिएको हो । यसअघि गाँजा खेतीसमेत फँडानी गरिएकोमा गाँजा खेती गर्ने अधिकांशले भित्र्याइसकेकाले पछिल्लो समय अफिम खेती फँडानीलाई अभियानका रूपमा सञ्चालन गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेश प्रहरी कार्यालय मातहतका १० जिल्लामध्ये मकवानपुर, चितवन र धादिङ जिल्लामा अफिम खेती फँडानी गरिएको छ । यी तीन जिल्लामध्ये सबैभन्दा बढी अफिम खेती मकवानपुरमा गरिएको तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी अफिम फँडानीसमेत मकवानपुर जिल्लामै गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चालु आर्थिक वर्षको हालसम्ममा यी तीन जिल्लामा ८७ बिघा १९ कट्ठा १५ धुर जग्गामा लगाइएको गाँजा फँडानी गरेको छ । मकवानपुर जिल्लामा ८६ बिघा पाँच कट्ठा १५ जग्गामा अवैध रूपमा लगाइएको अफिम खेती फँडानी भएको तथ्याङ्क छ । यस्तै धादिङ जिल्लामा एक बिघा १० कट्ठा र चितवन जिल्लामा चार कट्ठामा लगाइएको अफिम खेती फँडानी गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रहरी टोली गएर फँडानी गरिएको क्षेत्रको फँडानीको अवस्थाका बारेमा अनुगमन गर्ने भएको जनाइएको छ । प्रहरी प्रशासनमाथि गाँजा र अफिम खेती फँडानी गर्दा आर्थिक चलखेल र पहुँचका आधारमा अवैध गाँजा र अफिम खेती कसैको फँडानी गरी नष्ट गर्ने र कतिपयको छाडेर हिँड्ने गरेको आरोप लाग्दै आएको छ । मकवानपुरमा गाँजा र अफिम खेती व्यापारीले नै खर्च गरेर र भारतीय मिस्त्री ल्याएर रेखदेख गर्नेलगायतका कार्य हुने गरेको छ ।

मकवानपुर राक्सिराङ गाउँपालिका–४, ५, ६, ७, ८ र ९, कैलाश गाउँपालिका–१, २, ५, ६, ७ र ८, चितवनको राप्‍ती नगरपालिका–१० र १२ तथा धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ र बेनीघाट रोराङ गाउँपालिका–१ का विभिन्न स्थानमा अफिम खेती लगाइँदै आएको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

ताजा समाचार

Related Articles