विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन

लोकप्रिय

हेटौँडा, चैत १ गते ।
बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

प्रदेश सभाको बुधबार बसेको बैठकले समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत गर्दै प्रदेश सरकारलाई उक्त प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रतिवेदन पारित गर्न निर्णयार्थ पेस गर्दै आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत भएसँगै कार्यान्वयन गर्न सरकारलाई निर्देश गर्नुभएको थियो ।

यसअघि प्रतिवेदनमाथि छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल, प्रदेश सभा सदस्य भरतबहादुर केसी र प्रदेश सभा सदस्य मधुकुमार श्रेष्ठ प्रतिवेदनमा आएको सुझावलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

गत असारदेखि थाती रहेको बागमती प्रदेशको बजेट भागबण्डासम्बन्धी विवादका बारेमा सुझाव दिन गठित विशेष समितिले तयार गरेको प्रतिवेदन यसअघि प्रदेश सभाको बैठकमा समितिका संयोजक गोविन्द लम्सालले पेस गर्नुभएको थियो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले गत असारमा ल्याइएको बजेट विभेदपूर्ण भएको भन्दै बजेटमा आफ्नो माग संवोधन गर्नुपर्ने माग गर्दै आएको छ । प्रदेश सभाको बैठकले ११ सदस्यीय विशेष समिति गठन गरेको हो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको छ ।

ताजा समाचार

Related Articles