मकवानपुरमा एसइईका लागि २६ परीक्षा केन्द्र निर्धारण

लोकप्रिय

मकवानपुर चैत ८ गते ।
मकवानपुरमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि २६ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आगामी चैत १५ गते बिहीबारदेखि सुरु हुने परीक्षाको लागि कुल २६ केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लामा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको इकाईका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभयो । यस वर्ष मकवानपुर जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिकामा पनि केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।

यो वर्ष मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसइई परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । यस बर्ष जिल्लाका सामुदायिक तर्फका एक सय र संस्थागत तर्फ ३६ विद्यालय गरी कुल १३६ विद्यालय एसइई परीक्षामा सामेल हुने उहाँले बताउनुभयो ।

उहाँले संघ र प्रदेशबाट प्राप्त हुने उत्तर पुस्तिका र प्रश्नपत्र प्राप्त भइसकेको तथा उत्तर पुस्तिका र प्रश्नपत्र प्रहरीको समन्वयमा परीक्षा केन्द्र पठाउने काम सुरु गरिसकिएको र १/२ दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

परीक्षामा नियमिततर्फ प्राविधिक धारतर्फ बाहेक ५ हजार ७५०, प्राविधिक धारतर्फ २६४ र एक्जाम्टेडतर्फ १४९ गरी कुल ६ हजार १६३ जना विद्यार्थी सहभागी हुने उहाँले बताउनुभयो ।

यस्तै खुलातर्फ ८४ जना परीक्षार्थी रहेको र भीमफेदी कारागारमा एक जना कैदी पनि परीक्षार्थी रहेको गौतमले बताउनुभयो ।

यो वर्ष देशभरिबाट भने करिब ४ लाख ८८ हजार जना विद्यार्थीहरू नियमिततर्फ र ७ हजार ग्रेड वृद्धितर्फ गरी कुल ४ लाख ९५ हजार विद्यार्थीहरूले एसइई परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभरिमा कुल २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ः०० बजेबाट सुरु हुनेछ । साधारणतर्फ सात सय पूर्णाङ्कको परीक्षा हुनेछ भने पूरक परीक्षार्थीले ८ सय पूर्णाङ्कको परीक्षा हुनेछ ।

ताजा समाचार

Related Articles