हाम्रो नेपाली पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

लोकप्रिय

हेटौँडा, चैत १३ गते ।
हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

हाम्रो नेपाली पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई २०७९ पुस २५ गते सरकार गठनदेखि निरन्तर समर्थन दिँदै आएको थियो । हाम्रो नेपाली पार्टीले हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्यनजर गर्दै आगामी दिनमा संसदमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने जनाएको छ ।

यसअघि नेपाली कांग्रेसका ६ जना मन्त्रीहरूले राजीनामा दिँदै समर्थन फिर्ता लिएको थियो । गत फागुन २३ गते कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । बहुमत जुटाएर सरकार टिकाउन दबाब खेपिरहेका मुख्यमन्त्री जमरकट्टेललाई हाम्रो नेपाली पार्टीले समर्थन फिर्ता लिएपछि थप संकट बढेको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री जमरकट्टेल नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाएर बहुमत जुटाउने कसरतमा हुनुहुन्छ ।

एमाले र एकीकृत समाजवादी पनि आफ्नो नेतृत्वमा सरकार गठनको कसरतमा छन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

ताजा समाचार

Related Articles