गीतकार थापा र गायिका देशार सम्मानित

लोकप्रिय

हेटौँडा, वैशाख १ गते ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल, हेटौँडाले यो वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८० गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ ।
हेटौँडामा बिहीबार साँझ भएको कार्यक्रममा वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा स्थापना भएको प्रतिष्ठानले पाँच दशकभन्दा बढी समयदेखि गीतहरू सिर्जना गर्दै आउनुभएको गीतकार थापालाई पुरस्कार समर्पण गरिएको हो ।
हेटौँडाका उद्यमी कन्हेयाकृष्ण श्रेष्ठले वि. सं. २०६४ मा आफ्नी माता बिजुतीमाया वनः श्रेष्ठको नाममा स्थापना गर्नुभएको सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
पोहोर साल खुसी फाट्दा… पर लैजाऊ फूलहरू यो मन त तलाउ हो… लगायतका कालजयी गीतका सर्जक थापाका गीतमा ६० भन्दा बढी सङ्गीतकारले सङ्गीत भरेका छन् ।
हालसम्म ’विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम र किरण प्रधान सम्मानित भईसक्नुभएको छ ।
यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको भीम विराग राष्ट्रिय युवा सङ्गीत पुरस्कारबाट गायिका निशा देशारलाई सम्मानित हुनुभएको छ । यो पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । उक्त पुरस्कार प्रायोजन साहित्यकार एलबी क्षेत्रीले प्रायोजन गर्नुभएको हो ।
दुवै पुरस्कार प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्र थापाले प्रदान गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles