प्रदेशको कुल गार्हस्थ्य उत्पादन करिब चार प्रतिशत हुने अनुमान

लोकप्रिय

हेटौँडा, असार २ गते ।
बागमती प्रदेशको चालु आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर करिब चार प्रतिशत हुने अनुमान गरिएको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान गरिएकोमा बागमती प्रदेशको वृद्धिदर ३.९६ प्रतिशत रहने अनुमान गरिएको हो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८०/०८१ प्रदेश सभामा प्रस्तुत गर्दै पछिल्ला वर्षमा बागमती प्रदेश सरकारको सार्वजनिक खर्च बढ्दै गएको बताउनुभयो ।
उहाँले आर्थिक वर्ष २०८०÷८१ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.४ प्रतिशत, कृषि क्षेत्रको योगदान १२.० प्रतिशत र उद्योग क्षेत्रको योगदान १०.६ प्रतिशत रहने अनुमान गरिएको बताउँदै उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिमा बागमती प्रदेशको हिस्सा ३६.२ प्रतिशत र राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको हिस्सा १७.१ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको बेरोजगारी दर ६.६६ प्रतिशत रहेकोमा बागमती प्रदेशको ५.८४ प्रतिशत रहेको बताउनुभयो ।
उहाँले बागमती प्रदेशको निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसङ्ख्या १२.५९ प्रतिशत र बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या सात प्रतिशत रहेको भन्दै प्रदेशमा गरिबीको विषमता २.६४ प्रतिशत, गरिबीको गहनता ०.८९ प्रतिशत र गरिबीको फैलावट १२.६८ प्रतिशत रहेको बताउनुभयो ।
मन्त्री थपलियाले चालु आवको गत फागुन मसान्तसम्म प्रदेश सरकारको चालु खर्च आठ अर्ब ७४ करोड ७६ लाख अर्थात् चालु विनियोजनको ३३.१० प्रतिशत र पुँजीगत खर्च सात अर्ब ८७ करोड ७५ लाख अर्थात् पुँजीगत विनियोजनको २२.०२ प्रतिशत गरी जम्मा १६ अर्ब ६२ करोड ५१ लाख अर्थात् कुल विनियोजनको २६.५१ प्रतिशत रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles