सुर्खेत, भदौ १४ गते।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका भ्रष्ट्राचारीहरूलाई कारबाही गर्न थालेपछि आफु प्रधानमन्त्रीबाट बाहिरिनु परेको बताउनु भएको छ ।
माओवादी पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत आईपुग्नु भएका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई जोगाउनकै लागि आफु नेतृत्वको सरकार परिवर्तन भएको तथ्य पुष्टि भइसकेको दाबी गर्नु भयो । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिँदै उहाँले सत्य र जायज मुद्दा विरुद्धको आवाजलाई धम्कीका रुपमा नबुझ्न समेत स्पष्ट पार्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका माओवादी अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको जनाउनु भयो । आफ्नो पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै उहाँले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रुपमा सतहमा ल्याएको बताउनुभयो ।
पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उहाँको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै आफू ७० वर्ष कट्दै गरेको र सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने मान्यता आफ्नो नभएको बताउनुभयो । प्रचण्ड अध्यक्ष भन्दा माथि भइसकेकाले एउटा राम्रो टिम बनेपछि अर्का भूमिकामा जाने सोचिरहेको उहाँको भनाइ थियो ।