साफ च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्ने

लोकप्रिय

काठमाडौँ, भदौ १४ गते।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । कात्तिक १ गते दशरथ रङ्गशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्नेछ ।
उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बङ्गलादेश र पाकिस्तानबिच हुनेछ । समूह ‘ए’मा बङ्गलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलङ्का छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौँ संस्करणमा १२ खेल हुनेछन् ।
नेपालमा लगातार तेस्रो पटक पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । दशरथ रङ्गशालामा साफ च्याम्पियनसिपको छैटौँ संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौँ संस्करण आयोजना हुने तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ । नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको लगातार तेस्रो पटक हो । नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा साफको पाँचौँ संस्करण आयोजना भएको थियो ।
साउद एसियन फुटबल फेडेरेसन (साफ) ले सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरूमध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो ।
२०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो । पछिल्लो पटक काठमाडौँमा भएको बाहेक सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । २०२२ मा बङ्गलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा नेपाललाई हराएको थियो ।

ताजा समाचार

Related Articles