जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम बढ्दैः मन्त्री लामिछाने

लोकप्रिय

हेटौँडा, माघ ३० गते ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेशमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमहरू बढ्दै गएको बताउनुभएको छ ।
उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमहरू बाढी, पहिरो, डुबान, चट्याङ, खडेरी, आगलागी र अन्य मौसमजन्य घटनाहरूको असर बढ्दै गएको भन्दै गत मनसुनको विपद्का कारण हाम्रो भोगाई र अनुभवले विपद् व्यवस्थापनका सम्बन्धमा पाठ सिकाएर गएको बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मंगलबारबाट हेटौँडामा सुरुभएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले हाम्रा निकायहरुका क्षमता अभिबृद्धि गर्दै विपद्को समयमा पूर्वतयारी अवस्थामा रहने बताउनुभयो ।
विपत्को घटना पश्चात् प्रतिकार्यका निम्ति आवश्यक तथ्याङ्कहरु उपलब्ध नहुनु, उपलब्ध तथ्याङ्क पनि भरपर्न योग्य नदेखिनु, पोर्टलहरुले देखाएका तथ्याङ्क तथा सुरक्षा निकायमार्फत् प्राप्त विवरणहरुबीच तालमेल नमिल्ने जस्ता समस्याहरुले तत्काल गर्नुपर्ने प्रतिकार्यका कार्यहरुमा कठिनाई भोगिएको भन्दै उहाँले भन्नुभयो विपद्का अवस्थामा प्रतिकार्यका निम्ति तत्पर रहने र नागरिकको जिउधनको सुरक्षामा प्रदेश सरकार संवेदनशील रहेको छ ।
उहाँले संघीय सरकार र बागमती प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै नीति निर्माण, पूर्वतयारी, प्रविधि उपयोग, र स्थानीय तहहरुसँगको समन्वय र सहकार्यलाई अझ सघन बनाउँदै गइरहेका बताउनुभयो ।
उहाँले प्रदेश सरकार ज्ञान आदान–प्रदान, क्षमता विकास, र नवीन प्रविधि अपनाउने कार्यहरूमा निरन्तर सहकार्य गर्न तत्पर रहेको चर्चा गर्दै सहभागीहरूले सिक्नुभएको ज्ञान तथा सीपलाई आफ्ना संस्थाहरूमा लागू गरी विपद् व्यवस्थापन र न्यूनीकरणमा प्रभावकारी योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसाल, प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, एशिया र अफ्रिकाका लागि क्षेत्रीय एकिकृत पूर्वसूचना प्रणालीका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ,
प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश भित्रका सबै जिल्ला तथा हेटौँडा उमपहानगरका विपद् फोकल पर्सनको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles