हेटौंडा, जेठ २८ गते ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरेको छ । पहिलोपटक आयोजित यस विशेष कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका बिषयमा छलफल भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तमाङले आवश्यकता भन्दा बढी औषधि माग गर्ने प्रचलन रहेको बताउँदै रोग लाग्न नदिने जीवनशैली अपनाउनु नै दीर्घकालीन समाधान भएको बताउनुभयो ।
“नियमित व्यायाम गरेमा धेरै रोग लाग्दैन । औषधि वितरणमा भन्दा रोग लाग्न नदिने कुरामा ध्यान दिनुपर्ने बेला आएको छ,” मुख्यमन्त्री लामाले भन्नुभयो।

मुख्यमन्त्री लामाले औषधि र उपकरणको खरिद प्रक्रिया पारदर्शी बनाइनुपर्ने आवश्यकता औँल्याउँदै कम मूल्यमा बोलपत्र पर्नुका कारण गुणस्तर कम हुने गरेको भनाइ समेत राख्नुभयो।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशस्तरीय र स्थानीय स्वास्थ्य संस्थाहरूको आवश्यकता अनुसारको बजेट विनियोजन गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो।

“स्वास्थ्यमा अहिलेको परिपाटीमा कम प्रतिशत मात्र बजेट छुट्टीने गरेको छ। बिश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ, अहिलेको अवस्थामा सबै अस्पताल र स्वास्थ्य संस्थाका आवश्यकता पूरा गर्न पर्याप्त छैन,” मन्त्री थापाले भन्नुभयो।
उहाँले स्वास्थ्य सेवालाई बिस्तार गर्न सरकार प्रतिवद्ध रहेको भए पनि बजेटका कारण सेवा दिन कठिन भइरहेको उल्लेख गर्नुभयो।

स्वास्थ्य मन्त्रालयले रोग लाग्न नदिन “मेरो लागि एक घण्टा समय” भन्ने नारासहित मन्त्रालयले काम गर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। अस्पतालमा बिरामीको चाप बढिरहेको छ। यो चाप व्यवस्थापन गर्न सेवा र पूर्वाधारमा लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाले आगामी वर्षमा आवश्यक पर्ने औषधि र उपकरणको विस्तृत प्रक्षेपण प्रस्तुत गर्नुभएको थियो।
उहाँले यो प्रक्षेपण कार्यक्रम पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै कम वा अत्यधिक आपूर्ति हुन नदिन योजना बनाइएको बताउनुभयो।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन राज काफ्ले, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेश सभा सदस्य भरत केसी, निति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, सदस्य डा. दिपेन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, मन्त्रालयका महाशाखा प्रमुखहरू सागर घिमिरे, डा. खगेश्वर गेलाललगायतको सहभागिता रहेको थियो ।




