काठमाडौँ, साउन ६ गते । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत आर्थिक वर्ष २०८१-२०८२ मा विभिन्न निकायलाई दिएका निर्देशनको कार्यान्वयन प्रगति विवरण सात दिनभित्र माग्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले समितिबाट दिइएका निर्देशनको कार्यप्रगति सात दिनको समय दिएर माग गर्न निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले गत आर्थिक वर्षमा विभिन्न मितिमा भएका बैठकले विभिन्न निकायलाई दिएका निर्देशन कार्यान्वयनको विवरण माग गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, कानुन मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।

बैठकले मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफल एवं संशोधनकर्ता सांसदसँग छलफल हुँदा विचाराधीन सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२, सामाजिक सञ्जाल विधेयक, २०८१ सँग अन्तरसम्बन्धित विषयहरू उठाएकाले समितिको आगामी बैठकमा त्यसबारे प्रष्ट पार्न सञ्चार मन्त्रालयलाई निर्देश गरेको छ ।

‘छलफलमा दुई विधेयकसँग अन्तरसम्बन्धित विषय उठाइएकाले उल्लेखित कुन विधेयकसँग सम्बन्धित रहेका छन् र कुन विधेयकले के कुरालाई प्रतिनिधित्व गर्छ भन्ने’ विषयमा समितिलाई प्रष्ट पार्न सञ्चार मन्त्रालयलाई निर्देश गरिएको जनाइएको छ ।




