हेटौँडा, असार ९ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को लागि ४२ करोड रुपियाँभन्दा बढीको बजेट ल्याएको छ ।
इन्द्रसरोवर गाउँपालिकाको मङ्गलबार बसेको १७ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाले ४२ करोड दुई लाख ३० हजार १३५ रुपियाँ बराबरको बजेट पेस गर्नुभएको हो ।
आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको विभिन्न अनुदानबाट २३ करोड २६ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट तीन करोड १३ लाख १५ हजार, राजस्व बाडफाँडबाट १३ करोड १३ लाख १५ हजार १३८, आन्तरिक स्रोतबाट ५० लाख र दुई करोड रुपियाँ रहेको छ ।
चालु आवका लागि ४१ करोड ७२ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।
उपाध्यक्ष लामाले आगामी आवको बजेट पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेर ल्याइएको बताउनुभयो ।
साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि पूर्वाधारहरुका लागि काठमाडौँ तथा हेटौँडालगायतका नजिकका सहरबाट आउने पर्यटकहरूलाई आकर्षित गर्ने प्याकेजहरू बनाइने भएको छ ।
गाउँसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मतिबाट पास गरेको छ ।
गाउँसभा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण, दिगो भौतिक पूर्वाधार विकास र सडक सञ्जाल र सूचना, सञ्चार तथा प्रविधि र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले वैकल्पिक तथा रणनीतिक मार्गको मर्मतः कुलेखानी–फाखेल–फर्पिङ र सिस्नेरी–छैमले सडक खण्डको बाह्रै महिना चल्ने गरी पहिरो नियन्त्रण आवश्यक भएको बताउनुभयो ।
यस्तै गुणस्तरीय सामाजिक विकास र विपद् व्यवस्थापन तथा वातावरण संरक्षणमा नीति तथा कार्यक्रममा जोड दिइएको छ ।




