खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित संस्कृत वेद विद्यालयलाई उद्योग संघ मकवानपुरले संघको ४७ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा विद्यालयको संस्थागत सदस्यता ग्रहणसँगै सहयोग गरेको छ ।
विद्यालयमा आवासीय रूपमा अध्ययनरत बटुकहरूको अध्ययन, अध्यापन, निःशुल्क आवास तथा भोजन व्यवस्थापनका लागि स्थापित अक्षयकोषमा उद्योग संघ मकवानपुरले संस्थागत आजीवन सदस्यता ग्रहण गरी सहयोग गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष श्रीहरि मास्केसहित पदाधिकारी एव सदस्य गरी १५ जनाले विद्यालयको आजीवन सदस्यता दिनुभएको विद्यालयले जनाएको छ । यस्तै संघका निवर्तमान अध्यक्ष बद्रिनाथ शर्माले ११ हजार १११ रुपियाँ प्रादन गरी विशिष्ट आजीवन सदस्यता लिनुभएको छ ।

विद्यालयको आजीवन सदस्यता ग्रहण वापत प्राप्त सहयोगले गुरुकुलीय परम्पराको संरक्षण तथा संवद्र्धनमा एवं संस्कृत शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले दाताहरूलाई स्वागत एवं सम्मान गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं उद्योग संघ मकवानपुरका उपाध्यक्ष सुयश पराजुली र उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष अध्यक्ष माधव अधिकारीले संघले स्थापना दिवसमा संस्कृत वेद विद्यालयको आजीवन सदस्यता ग्रहण गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो ।




