काठमाडौँ, जेठ २६ गते । सरकारले ठूला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण, लोवर न्यादी खोला, घुन्सा खोला र तादी खोला जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो । मन्त्रिपरिषद् बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ लाई समेत स्वीकृति दिएको छ।

त्यसैगरी, लामो समयदेखि नेतृत्व विवाद र अन्योलमा रहेको नेपाल रेडक्रस सोसाइटी को सञ्चालनका लागि दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
नयाँ समितिलाई संस्थाको नियमित गतिविधि सञ्चालन तथा संगठनात्मक व्यवस्थापनको जिम्मेवारी दिइने बताइएको छ। बैठकले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ सम्बन्धी अध्ययन तथा छानबिनका लागि गठित उच्चस्तरीय समितिले पेश गरेको प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय पनि गरेको छ।




