भानु जयन्तीमा जनप्रियमा कविता प्रतियोगिता

लोकप्रिय

हेटौँडा, असार २८ गते । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा २१३ औँ आदिकवि भानुभक्त आचार्य जयन्ती विशेष कविता प्रतियोगिता र परिचर्चा कार्यक्रम जनप्रिय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा रहेको भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै कार्यक्रम सुरुवात गरिएको थियो ।
माध्यमिक तहका विद्यार्थीहरूबीचको जिल्लास्तरीय खुला कविता प्रतियोगितामा छनौट भएका १६ वटा कविता आइतबारको कार्यक्रममा वाचन गरिएको थियो ।
निर्णायक मण्डलबाट पहिलो दोस्रो, तेस्रो र दुईजना सान्त्वना गरी पाँच जना विद्यार्थी छनौट भई नगद राशि र प्रमाणपत्र सहित पुरस्कृत गरियो ।
कार्यक्रममा प्रथम हेटौँडा एकेडेमीका छात्र रोज कार्की, द्वितीय बालजागृतिकी छात्रा प्रिन्सा थापा र तृतीय भई जनप्रिय माविकी छात्रा शिक्षा गौतम पुरस्कृत भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
भावना सापकोटा र सानु खनालको निर्णायक रहनुभएको थियो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ नम्बर वडा सदस्य सङ्गीता विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बस्ताकोटी र विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक रामआशिष मण्डल, सिस्नुपानी नेपाल मकवानपुररका अध्यक्ष संप्रस पौडेल, साहित्यकारहरू राजकुमार लामिछाने, सानु खनाल, भावना सापकोटा, पुरुषोतम आचार्यलगायतकोे उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles