बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध साताव्यापी अभियान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २४ गते ।
बागमती प्रदेश सरकारले प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट पशुलाई खोप लगाउन थाल्ने भएको हो ।
मन्त्रालयले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका बागमती प्रदेशमा हालसम्म दुई लाख चार हजार ९८८ पशु यो रोगबाट प्रभावित बनेको जानकारी दिइएको थियो । गाईभैँसीमा पछिल्लो समय प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध अभियानअन्तर्गत प्रदेशका ९१ वटा स्थानीय तहमा ५० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
मन्त्रालयका पशु विकास अधिकृत डा. निसान्त गेलालले पत्रकार भेटघाटमा लम्पी स्किन रोगबाट सक्रिय सङ्क्रमित पशु एक लाख १० हजार ४४०, रोग लागेर मरेका छ हजार २९१ र खोप लगाइएका पशुको सङ्ख्या एक लाख ३२ हजार नौ सय रहेको बताउनुभयो । उहाँका अनुार यस प्रदेशमा लम्पी स्किन रोगका कारण पशुको बिरामी हुने दर १०.२७ प्रतिशत, मर्ने दर ३.१ प्रतिशत र १२.०८ प्रतिशत गाईलाई खोप लगाइएको छ । अभियानका क्रममा लम्पी स्किन रोगविरुद्धको खोप रोग लागिसकेका र रोगबाट मुक्त भईसकेका पशुलाई लगाइने छैन ।
यो रोगबाट सबैभन्दा बढी काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्ला प्रभावित भएका छन् । खोप अभियानअन्तर्गत १४६ जना भ्याक्सिनेटरद्वारा पशुलाई खोप लगाइने छ ।
पत्रकार भेटघाटमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले पशुधनको रक्षाका लागि प्रदेश सरकारको सामथ्र्य र किसानको आवश्यकताअनुसार खोप लगाउन लागेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles