गाँजा र अफिम खेतीको विकल्पमा कफी खेती गर्न सहमती

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मकवानपुर राक्सिराङ गाउँपालिकामा गरिँदै आएको अवैध गाँजा तथा अफिम खेतीको विकल्पमा कफी गर्न राक्सिराङ गाउँपालिका र मास्के मल्टीपर्पोज एग्रिकल्चर एन्ड रिसर्च प्रा.लि. बिच सहमती भएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वय तथा सहकार्यमा राक्सिराङ गाउँपालिकामा वैकल्पिक नगदेवालीतर्फ आकर्षित तथा प्रोत्साहन गर्दै कफी खेतीमार्फत किसानहरुको आयआर्जन एवं जीवनस्तर उकास्ने उद्देश्यले कफी खेती गर्ने सहमती भएको हो । चालु आर्थिक वर्ष २०८०।०८१ मा तीन लाख वटा कफीका तयारी बिरुवाहरु निःशुल्क रुपमा उपलब्ध गराउने गरी बिहीबार आयोजित कार्यक्रममा राक्सिराङ गाँउपालिकाका अध्यक्ष राजकुमार मल्ल र मास्के मल्टीपर्पोज एग्रिकल्चर एन्ड रिसर्च प्रा.लि.का कार्यकारी निर्देशक धनबहादुर श्रेष्ठ बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
कार्याक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणा, प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाललगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाल प्रहरी श्रीमती सङ्घको ३९ औँ वार्षिक उत्सवका अवसरमा बिहीबार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा परिसरमा वृक्षरोपण गरिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको उपस्थितिमा भएको कार्यक्रममा ९० जना प्रहरी कर्मचारीले अमला, अम्वा, कपुर, निम, कागती, भोगटेलगायत १२० वटा बिरुवा रोपेका थिए ।

ताजा समाचार

Related Articles