योजनाको सम्झौता र भुक्तानी अब वडाबाटै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते
हेर्टौंडा उपमहानगरपालिकाले वडा कार्यालयबाट हुँदै आएको कार्य सम्पादनमा नयाँ व्यवस्थाप गर्ने भएको छ ।
पालिकाले अब २० लाख रुपियाँ बराबरको योजनालाई वडातहबाट लागत अनुमान तयार, सम्झौता, कार्य अनुगमन तथा मूल्याङ्कन गरी फछ्र्यौटसम्म गर्ने गरी प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापन गर्न लागेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ सम्म पाँच लाख रुपियाँ बराबरको योजना वडा कार्यालयबाट फछ्र्यौट गर्ने अधिकार प्रदान गर्दै आएमा गत आव उक्त अधिकारलाई २० लाख रुपियाँसम्म बढाएको थियो । पालिकाका प्रवक्ता सविन न्यौपानेले बुधबार बसेको ३० औं कार्यपालिका बैठकले खर्चसम्बन्धी जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएसँगै अब कम्तिमा दुईवटा वडाको लेखा व्यवस्थापन गर्ने गरी एक जना लेखा अधिकृतको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । यसलाई क्रमशः बढाएर १९ वटै वडामा एक÷एक जना लेखाको कर्मचारी व्यवस्थापन गर्ने योजना बनाइएको छ ।
प्रवक्ता न्यौपानेका अनुसार वडामा प्राविधिक र लेखाको कर्मचारीको व्यवस्थापनसँगै योजनाहरुको लागत अनुमान तयार, सम्झौता, अनुगमन, कार्य सम्पन्नपश्चात् मूल्याङ्कन र भुक्तानीसमेत वडाबाटै हुनेछ । यो नयाँ व्यवस्थाले योजनाको भुक्तानीको लागि धेरैपटक नगरपालिका धाउनुपर्ने बाध्यताबाट वडाबासी मुक्त हुने छन् ।
बुधबारको बैठकले २०७३ फागुनसम्म नगरपालिका कार्यालयबाट साविक १ देखि ११ नम्बर वडाबाट उपलब्ध गराइएका सिफारिसको प्रतिलिपिहरुको ढड्डा सम्बन्धित वडामा पठाउने निर्णय गरेको छ । यसले साविक गाविसबाट नगरमा गाँभिएका र स्थान परिवर्तन भएका वडाहरुको प्रतिलिपि लिन पालिका गएर ढड्डा उतार गरिरहनुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।
यस्तै बैठकले चालु आवको स्थानीय दररेट विश्लेषण स्वीकृत गर्दै २० लाख रुपियाँभन्दा ठूलो परियोजनामा दुई प्रतिशत कन्टेन्जेन्सी रकम राख्ने, शिक्षा समन्वय एकाई बसेको सिद्धार्थ माविको भवन खाली गर्न पत्राचार गर्ने र पालिकामा सेवा करारमा कार्यरत् कर्मचारीहरुको बीमा गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले आवधिक योजना तयार गर्न कार्यदल गठन गर्ने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले हेभी सवारी चालक सञ्जु लोप्चनको केही दिनअघि कामको सिलसिलामा निधन भएकालेले निजको परिवारलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

ताजा समाचार

Related Articles